दक्षिण अमेरिकी खेलाडीलाई ला लिगाले पनि अन्तर्राष्ट्रिय खेलका लागि नछोड्ने 

मड्रिड, (खेलाडी)- इङ्लिस प्रिमियर लिगपछि स्पेनिस लिग ला लिगाले पनि कोभिड १९ महामारीका कारण अन्तर्राष्ट्रिय खेलका लागी दक्षिण अमेरिकी खेलाडीलाई अनुमती नदिने क्लबको समर्थनमा रहने निर्णय गरेको छ । 

यसअघि इङ्लिस प्रिमियर लिगले पनि कोभिड १९ को बढि जोखिम रहेका (रेड जोनमा परेका) देशका खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागी जान नदिने निर्णय गरेको थियो ।

दक्षिण तथा मध्य अमेरिकाका धेरैजसो देशहरु बेलायतको रेड जोनमा रहेका कारण प्रिमियर लिगले खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागि जान नदिने निर्णय गरेको थियो । 

यसैलाई पछ्याउदै स्पेनिस ला लिगाले पनी दक्षिण अमेरिकी खेलाडीलाई खेल्न जान नदिने क्लबको पक्षमा रहेको बताएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोबर र नोभेम्बरका ९ दिनको अन्तर्राष्ट्रिय खेल समयवधिलाई बढाएर ११ दिन पुर्‍याउने निर्णय गरेपछि ला लिगा अझ रुस्ट भएको हो । 

‘विश्वको लिग फोरमलाई समाधानको अर्को बाटो नदिइ अक्टोबर र नोभेम्बर दुवैमा ९ दिनको अन्तर्राष्ट्रिय समय बढाएर ११ दिन पुर्याउने एकपक्षीय निर्णयमा ला लिगाका क्लबले खेलाडी नपठाउन गरेको निर्णयको ला लिगा समर्थन गर्दछ,’ ला लिगाको विज्ञप्तिमा भनिएको छ, ‘ लिगको यो निर्णयविरुद्ध गएर प्रतियोगिताको अखण्डतालाई असर पुर्याउने क्लबविरुद्ध प्रासंगिक कानुनी कारवाही गरिने छ ।’

दक्षिण अमेरिकाका विभिन्न देशले अन्तर्राष्ट्रिय खेलका लागि १३ क्लबका २५ खेलाडीलाई समेटेर टिम घोषणा गरेपछि ला लिगाले यस्तो विज्ञप्ति निकालेको हो ।