कराँतेका ‘दीप’ 

काठमाडौं (खेलाडी) - दीपक श्रेष्ठ नेपाली कराँतेमा सबैभन्दा सफल खेलाडी हुन् । नयाँ पुस्ताका लागि रोलमोडल । मार्सल आर्ट्सको सफल खेलाडी हुनुमात्र दीपकको परिचय होइन । एउटा सफल प्रशिक्षक र खेलाडीको नेताका रूपमा पनि उनले आफ्नो परिचयलाई विस्तारित गरिसकेका छन् । 

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने राष्ट्रको अहिलेसम्मकै सबैभन्दा सफल कराँते खेलाडीमध्ये एक, राम्रो कमाइ, खोटरहित आनीबानी, देशविदेशको घुमाइ दीपकको ईर्ष्या गर्न लायक पक्ष हुन् । यतिमात्र होइन एउटा सफल खेलाडी र प्रशिक्षकका साथै समग्र नेपाली खेलाडीहरूको नेता हुनुको ग्ल्यामरले धेरै समकक्षीलाई लोभ्याउँछ । 

हो, दीपक दक्षिण एसियाली खेलकुदमा दुईटा स्वर्ण पदक जित्ने दुईमात्र नेपाली कराते खेलाडीमध्ये एक हुन् । दीपकले आठौं र नवौं संस्करणमा स्वर्ण जितेका थिए । साफमा दुई स्वर्ण पदक जित्ने अर्का नेपाली कराँते खेलाडी हुन्, मन्डेकाजी श्रेष्ठ । मन्डेकाजीले दुई वर्षअघि नेपालमै भएको १३ औं संस्करणमा दोहोरो स्वर्ण पदक जितेका थिए । 

यति धेरै गुणधारी दीपकका केही सानातिना अवगुण उनको समग्र व्यक्तित्वमा खोट लगाउन समर्थ हुन्न । पारिवारिक जीवनमा पनि आकर्षक व्यक्तित्वका दीपकका यिनै गुणहरूले सकारात्मक भूमिका खेलेका छन् । 

पाटनकी कविता शाक्य दीपकप्रति आकर्षित हुनुको रहस्य पनि यही हो । कुरा, २६ वर्षअघिको हो । पाटन संयुक्त क्याम्पसमा अध्ययनरत कविता फिटनेसका लागि छोटो समय कराँतेमा लागेकी थिइन् । त्यतिबेला दीपक सितोरियो कराँतेका स्टार भइसकेका थिए । प्रतियोगिताको सिलसिलामा सन् १९९५ मा एउटा दार्जिलिङ भ्रमणको अवसर जुर्यो । त्यही भ्रमणमा एकअर्कासँग नजिकिएका दीपक–कविताको जोडीले मायाको अन्तिम गन्तव्य पाएको पनि दुई दशक नाघिसकेको छ ।

काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेलगत्तै २००० मा कवितासँग प्रणयसूत्रमा बाँधिएका दीपक अहिले एक छोरीका पिता बनिसकेका छन् । छोरी कृति पनि अहिले १५ वर्ष लागिसकेकी छन् । श्रीमती कविता फेसन डिजाइनर भएकाले विभिन्न बुटिकमा कन्सल्ट्यान्ट भएर काम गर्छिन् ।

दीपकको घर बन्नुभन्दा अघि आफ्नै बुटिक खोलेर काम गरेकी थिइन् । तर अहिले त्यो बन्द अवस्थामा छ । दीपक खेलाडी मान्छे, कहिले कता, कहिले कता हिडिराख्नुपर्ने । घर बनाउने सबै काम कविताको काँधमा आइपर्यो । साथै बच्चाको स्याहारमा पनि समय दिनुपर्यो । त्यसकारण उनले आफ्नो बुटिकमा समय दिन सकिनन् । ती सबैबाट समय निकालेर कविताले चाइल्ड डेभलपमेन्ट र जेन्डरमा मास्टर्स गरिसकेकी छन् । कविताले आफ्नो विषयमा भने खासै काम गर्न पएकी छैनन् । तर बुटिककै काम कविताले ब्लोजनमार्फत गरिरहेकी छन् ।

स्वयं दीपक भने कराँतेको नियमित कर्मबाहेक श्रीमती र छोरीसँग समय बिताउँछन् । छोरी कृति पनि पौडी खेलाडी हुन् । इन्टर कलेज पौडी प्रतियोगिताहरूमा भाग लिन्छिन् । जुनियर पौडीमा कृति च्याम्पियन भएको दीपक सुनाउँछन् । कृति अहिले लिटिल एन्जल्समा ‘ए’ लेभलमा अध्ययनरत छिन् ।

दीपक अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् । त्यसकारण उनी अहिले सम्पूर्ण खेलाडीको अभिभावकत्व लिनुपर्ने जिम्मेवारीमा छन् । सधैं खेलाडीकै बारेमा चिन्तित देखिन्छन् । खेलाडीलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेमा उनको ध्यान हुने गर्छ । 

दुई साग (तत्कालीन साफ, हालको साग) मा लगातार स्वर्ण पदक जितेका दीपक नेपाली कराँतेका क्षमतावान तर अभागी खेलाडी हुन् । ह्याट्रिक गर्ने लक्ष्य लिएर श्रीलंका पुग्दा उनी सन् २००६ को घिनलाग्दो अन्तर्राष्ट्रिय खेल राजनीतिको सिकार बन्नुपर्यो । पहिलो खेलमै लविङ नपुगेका कारण दीपकले जितेको खेलमा निर्णायकहरूले पराजित घोषणा गरे ।

दीपकका लागि त्यो खेल फगत एउटा बाउटमात्र थिएन । त्यो खेलसँग दीपकको सम्पूर्ण खेलजीवनको सम्बन्ध थियो । साँचो अर्थमा त्यो खेल उनको खेलजीवनको क्लाइमेक्स नै थियो । सागमा स्वर्णको ह्याट्रिक पूरा गर्न उनलाई त्यही मात्र जित आवश्यक थियो । जसका लागि उनी हकदार पनि थिए । तर जितेको खेल हराएर आफ्नो जिन्दगीकै लक्ष्य असफल पार्ने जाली निर्णायकहरूसँग सामान्य प्रतिवाद गर्दा दीपक उल्टै तथाकथित अनुशासनको कारबाहीमा परे ।

सम्झन्छन्, ‘त्यतिखेर मेरो जिन्दगीको सबैभन्दा ठूलो लक्ष्य एक झट्कामै चकनाचुर भयोे । खेलको भिडियो हेर्दा आज पनि मैले प्रस्ट जितेको देखिन्छ । तर मलाई हराइयो र हाम्रो खेलकुद प्रशासन एउटा असहाय रमितेझै सबथोक मौनतापूर्वक हेरेर बस्यो । सायद मेरो जिन्दगीको सबैभन्दा निराशाजनक क्षण त्यही हो ।’

२०४६ देखि खेल्न थाले पनि २०४९ सालदेखि मात्र निरन्तर अभ्यासमा रहेका दीपकले अहिले सितोरियो कराँतेको पाँचौ डान लिइसकेका छन् । छैटौं राष्ट्रिय खेलकुदपछि उनले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिरहेका छन् । दीपकले सक्रिय खेलजीवनबाट संन्यास लिएपछि २०६५ देखि ६७ सम्म नेपाल पुलिस क्लबको टिम सम्हालेका थिए । उनले टिम हेर्नुभन्दा अघि पुलिस क्लब खास राम्रो टिम थिएन । तर दीपकले राम्रा खेलाडीलाई पुलिस टिममा अनुबन्ध गराए । दुई वर्षको अन्तरमा उनले पुलिस क्लबलाई चार उपाधि दिलाइदिए । 

दीपक भन्छन्, ‘मैले बाहिरका खेलाडीलाई पुलिस क्लबमा अनुबन्ध गराएर जागिर दिने काम गरें । त्यसपछि अन्य विभागीय टिमहरूले पनि बाहिरका राम्रा खेलाडीलाई विभागमा राख्न थाले । त्यो चलनले गर्दा खेलाडीहरूलाई खेलजीवन सकेपछि पनि राम्रो भएको छ ।’

दीपकले जिन्दगीका सुनौला ३२ वर्ष बिताएको खेलकै माध्यमबाट विश्वका तीन दर्जनभन्दा बढी देश घुमिसकेका छन् । तीनपल्ट एसियाली कराँते च्याम्पियनसिप, दुईपटक एसियाली खेलकुद, विश्व च्याम्पियनसिप र जर्मन लिगजस्ता प्रतियोगितामा सहभागिता जनाइसकेका दीपकले प्रतियोगितामा जितेको पदकको लेखाजोखा नै छैन ।

४५ वर्षे दीपकले कराँतेमा लागेर देशव्यापी चर्चा, आत्मीय सम्मान, नायकको झै छवि, राष्ट्रका लागि रगत-पसिना बगाउने अवसर, जागिर अनि आत्मसन्तुष्टि पाएका छन् । यी सबथोक पाउँदा उनले गुमाएको भन्नु चाहिँ पढ्न नसक्नु मात्र हो । लामो समय संगत गर्नेले पनि भेउ नपाउने उनको कमजोर पक्ष भनेकै आमाबुबाको इच्छाअनुसार पढ्न सकेनन् ।

तर उनले नियतवश आफ्नो कमजोरी लुकाएका भने छैनन् । उनीसँग विश्वविद्यालयको औपचारिक शिक्षा र प्रमाणपत्र नभए पनि उनी प्राविधिक शिक्षामा स्नातकोत्तरभन्दा कम होइनन् । भलाद्मीपनका पर्फेक्ट नमुना रहेका दीपकले गर्ने व्यावहारिक विश्लेषणले उनलाई विश्वविद्यालयबाट दीक्षित कुनै युवाभन्दा कम होइन, बरू बढी नै बौद्धिक देखाउँछ ।

२०५४ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकका रूपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी प्रशिक्षक भए । दीपकले प्रशिक्षण दिने ललितपुरको एलए स्कुलमा पनि उनको निरन्तरता कायमै छ । दीपकले लगनखेल डोजो पनि हेर्छन् । ललितपुर उनकै जिल्ला हो । ललितपुर जिल्लाको खेलकुद विकासमा पनि उनी निरन्तर लागिपरेका छन् ।

२०५२ देखि सुरु भएको उनको प्रशिक्षण करियरले हजारौं खेलाडी उत्पादन गरिसकेको छ । राष्ट्रिय टिममा परी थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेका छन् । यहाँसम्म कि दसौं सागमा आफू असफल हुँदा राष्ट्रका लागि पदक जित्ने अमृता शाक्य, विनोद शाक्यहरू उनकै चेलाचेली हुन् । भर्खरै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने ७५ प्रतिशतभन्दा बढी खेलाडीलाई दीपकले नै प्रशिक्षण गराएका थिए ।

नेवारको छोरा भएर पनि मदिरामोहमा नपरेका दीपक भन्छन्, ‘एउटा खेलाडीका लागि रक्सी पिउनु राम्रो हुँदैन भन्ने लागेर नपिएको हुँ । फेरि हाम्रा बाउबाजेले नै धेरै खाइसकेका छन् । त्यसैले मलाई खासै रूचि भएन ।’

१५ औं शताब्दीतिर ‘दारुमा’ नामका एक बौद्ध धर्मालम्बीले नेपालमै कराँते आविष्कार गरेको किंवदन्ती छ । उनले लुम्बिनीबाट सुरु गरेर चीन हुँदै कराँते जापान छिराएको भन्ने मान्यता रहेको दीपक सुनाउँछन् । दीपक अहिले कराँतेको जन्मभूमि नेपालमा यस खेललाई अझ सुधार गर्न कम्मर कसेर लागेका छन् ।