नेपालविरुद्ध खेल्दै नेपालकी छोरी 

काठमाडौं, (खेलाडी)- एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् । 

उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 

हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् । 

गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४-१ को नतिजामा पराजित भएको थियो । 

केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो । 

अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २-१ को नतिजामा पराजित भएको थियो ।