सुखद सुरुआत गर्दै नेपाली महिला टोली

काठमाडौं, (खेलाडी)- एएफसी महिला एसियन कप छनोटमा फिलिपिन्ससँग खेलिरहेको नेपाली राष्ट्रिय टोलीले अग्रता लिएको छ । 

उज्वेकिस्तानमा आजबाट सुरु भएको एएफसी महिला एसियन कप छनोटमा नेपालले समूह 'एफ" को पहिलो खेलमा विमला चौधरीले १०औं मिनेटमा गरेको गोलमा अग्रता लिएको थियो ।

नेपालका लागि गोल गरेकी विमलाले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा घाइते भएर मैदान छोड्नु परेको थियो । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन् ।

अनुभवी तथा युवा खेलाडीको मिश्रणमा बनेको सन्तुलित नेपाली टोलीले ताजा अवस्थामा ६० मिनेटको खेल सकिँदासम्म १-० को अग्रता कायम राखेको छ ।

समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एएफसी महिला च्याम्पियनलाई छानिने प्रावधान छ । आजको खेल जित्न सके नेपालको भारत यात्राको सम्भावना कायम रहनेछ ।

नेपालले मंगलबार हङकङसँग छनोटको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । 

छनोट प्रतियोगिताका लागि नेपालले गत साता बंगलादेशको महिला टोलीसँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा २-१  को विजयी नतिजा निकालेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी नतिजामा चित्त बुझाएको थियो ।