रोनाल्डो रियाल नफर्किने प्रशिक्षक एन्सेलोट्टीको उदघोष 

मड्रिड, (खेलाडी)- स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले मंगलबार हाल युभेन्टसमा रहेका क्लबका पूर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फर्किने सम्भावना नरहेको बताएका छन् । 

रोनाल्डोले पनि रियाल मड्रिडमा आफ्नो कथा लेखिइसकेको भन्दै सान्टियागो बेर्नाबेउ पुनरागमनको सम्भावना नरहेको बताएका थिए ।

२०१३/१५ सम्म रोनाल्डोलाई रियालमा प्रशिक्षित गरेका एन्सेलोट्टीले पाँच पटकका बालन डी अर विजेतालाई टोलीले फेरी चाहेको भन्‍ने समाचारलाई अस्विकार गरे ।
 
‘क्रिस्टियानो रोनाल्डो रियाल मड्रिडका एक महान खेलाडी हुन् । उनिप्रति मेरो पूर्ण सम्मान छ’, प्रशिक्षकले ट्‍विरमा लेखेका छन् । उनले रोनाल्डोसँग सम्झौता गर्नेबारे नसोचेको र आफूहरु भविष्यप्रति केन्द्रित रहेको बताए ।
 
३६ वर्षीय रोनाल्डोको युभेन्टससँग सम्झौता आउदो जुनसम्मलाई छ । तर, स्पेनिस सञ्‍चार माध्यमले रोनाल्डो रियाल मड्रिडमा फर्किने समाचार प्रकाशित गरेका थिए । रियालमा रोनाल्डो २००९ देखी २०१८ सम्म बसेका थिए ।
 
स्पेनिस सञ्‍चार माध्यमका केही समाचारअनुसार पछिल्लो सिजन उपाधिविहिन रहेको रियालले पेरिस सेन्ट जर्मन (पिएसजी) का फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेलाई भित्र्याउने प्रयास गरिरहेको छ । 

रियालले आइतबार स्पेनिस ला लिगाको खेलमा डेर्पोटिभो आल्भेसमाथि ४-१ विजयी नतिजा निकाल्दै नयाँ सिजनको यात्रा सुरु गरेको थियो ।