व्यर्थ हल्लाहरु अपमानजनक छन् : रोनाल्डो

टुरिन, (खेलाडी)- युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले मंगलबार सामाजिक सञ्‍जालमा एक पोस्ट गर्दै आफ्नो भविष्यका बारेमा भइरहेको हल्लालाई ‘व्यर्थ’ र ‘असम्मानजनक’  भएको बताएका छन् । 

युभेन्टससँगको सम्झौता सकिन अब १२ महिनामात्रै बाँकी रहेको अवस्थामा त्यसपछि पोर्चुगलका ३६ वर्षिय कप्तानको गन्तब्य कहाँ हुनेछ भन्‍ने अनिश्‍चित छ । 

हाल रोनाल्डोको बारेमा पेरिस सेन्ट जर्मन (पिएसजी) र पूर्व क्लब रियाल मड्रिडसँग जोडिएका समाचारहरु सार्वजनिक भइरहेका छन् । तर, उनको पूर्व क्लब रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले पूर्व खेलाडी सान्टियागो बेर्नाबेउ फर्किने सम्भावनालाई इन्कार गरेका छन् । 

तत्कालिन समयमा क्लबमा रहदा तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिग जितेको रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँगै अर्को इङ्लिश क्लब म्यानचेस्टर सिटी पनि रोनाल्डो सम्भावित गन्तव्यको रुपमा जोडिएका छन् ।
 
रोनाल्डोले आफ्नो इन्स्टाग्राम ह्‍यान्डलमा एक आधिकारीक वक्तव्य जारी गरेका छन् । जसमा उनले ‘मानिसहरुले आफ्नो नामसँग खेलिरहेको’ लेख्दै आफ्नो उदेश्य सिक्नु रहेको र यो नै ‘वास्तविक सत्य’ रहेको बताएका छन् ।
 
‘मलाई चिन्‍नेहरुलाई म आफ्नो काममा कति ध्यान दिन्छु भन्‍ने विषयमा राम्रो जानकारी छ । कम बोल्नु धेरै काम गर्नु यो मेरो करियरको सुरुवात देखिकै निती हो,’ रोनाल्डोले आफ्नो पोस्टमा लेखेका छन्, ‘यो मेरा लागि एक मानिस र खेलाडीको रुपमा सबैभन्दा ठूलो अनादर हो । व्यर्थ रुपमा मेरो करियरको बारेमा मिडियामा आएका अफवाहले तिनमा उल्लेख गरिएका सबै क्लब, त्यसका खेलाडी र स्टाफहरुको अपमान गरिरहेको छ ।’ 

‘रियल मड्रिडमा मेरो कथा लेखिइसक्यो । सव्द र अंकमा, ट्रफी र उपाधिमा, कीर्तिमान र हेडलाइनहरुमा । यो बेर्नाबेउको संग्रहालय र रियल मड्रिडका सबै समर्थकको मस्तिष्कमा छ । मलाई थाहा छ, रियालका वास्तविक समर्थकहरुले मलाई निरन्तर उनिहरुको मुटुमा राख्‍नेछन् र मेरोमा उनीहरु रहनेछन्,’ रोनाल्डोले थपे, ‘म मेरो मौनता तोड्दै छु । म मानिसहरुलाई मेरो नाममा खेल्ने अनुमती दिन्‍न । म मेरो करियर र काममा केन्द्रित र प्रतिबद्ध छु र सबै चुनौतीहरुका लागी तयार छु । अरु सबै कुरा मात्रै हुन्,’ रोनाल्डोले आफ्नो वक्तव्यमा लेखेका छन् ।