पहिलो टेस्टमा भारत विजयी

लन्डन, (खेलाडी)- मोहम्मद सिराजले अन्तिम दिन ३२ रन दिएर चार विकेट लिएपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा १ सय ५१ रनको सानदार विजय हासिल गरेको छ । 

भारतले आठ विकेट गुमाएर २ सय ९८ बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले जितका लागि २ सय ७२ रनको लक्ष्य पायो । लर्डस क्रिकेट मैदानमा इङ्ल्यान्डले १ सय २० रन बनाउँदा सबै विकेट गुमायो । यससँगै पाँच खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ । पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो ।

दोस्रो इनिङमा भारतका सिराजवाहेक जसप्रित बुमराहले तीन, इशान्त शर्माले दुई र मोहम्मद सामीले एक विकेट लिए । इङ्ल्यान्डका लागि कप्तान जो रुटले सबैभन्दा धेरै ३३ रन बनाए । जोस बट्लरले २५ र मोइन अलीले १३ रन जोड्नुवाहेक घरेलु टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

भारतले १८१/६ को स्थितिबाट पाँचौं दिन थालेको थियो । अन्तिम दिन थाल्दा रिषभ पन्त १४ र इशान्त शर्मा चार रनको स्थितिमा थिए । पन्त २२ र शर्मा १६ रन बनाएर पवेलियन फर्किए । 

भारतले दोस्रो इनिङ समाप्तीको घोषणा गर्दा माहेम्मद सामी ५६ र जसप्रित बुमराह ३४ रनमा अविजित रहे । दोस्रो इनिङमा इङ्ल्यान्डका मार्क उडले तीन तथा अली रोबिन्सन र मोइन अलीले समान दुई विकेट लिए । साम कुरानको नाममा एक विकेट रह्‍यो । 

ओपनर केएल राहुलले १ सय २९ रन बनाएपछि भारतले पहिलो इनिङ्समा ३ सय ६४ रन बनाएको थियो । राहुलवाहेक अर्का ओपनर रोहित शर्माले ८३, कप्तान विराट कोहलीले ४२, रविन्द्र जडेजाले ४० र रिषभ पन्तले ३७ रन जोडे । इङ्ल्यान्डका जेम्स एन्डरसनले पाँच तथा रोबिन्सन र उडले समान दुई विकेट लिए । 

इङ्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ९१ रन बनाएको थियो । इङ्ल्यान्डका रुटले १८० रन बनाए थिए । जोनी बेयरिस्टोले ५७ तथा रोरी बर्नसले ४९ रन बनाए । भारतका सिराजले पहिलो इनिङ्समा चार तथा इशान्त शर्माले तीन विकेट लिए । सामीको नाममा दुई विकेट रह्‍यो।