राम्रो प्रदर्शन गर्नेमा नेपाली प्रशिक्षक विश्वस्त

काठमाडौं, (खेलाडी)- एएफसी महिला एसियन कप छनोटका लागि उज्वेकिस्तान पुगेको नेपाली महिला राष्ट्रिय टोलीका अस्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्सले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगिताअघि तास्केन्दमा आयोजित पत्रकार सम्मेलनमा फिलिप्सले भने, 'यो प्रतियोगिता नेपाली महिला फुटबलका लागि एउटा अवसर हो । महिला फुटबल प्रवर्धनका लागि मात्र होइन । यो आफ्नो खेल र क्षमता देखाउने अवसर हो ।'

नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी पत्रकार सम्मेलनमा फिलिपिन्सका प्रशिक्षक मार्लोन मारेले कोभिड १९ महामारीका कारण धेरै टोलीलाई कठिनाई भएको बताउँदै आफ्ना धेरै खेलाडी व्यावसायिक खेलका लागि जापान, अमेरिकालगायतका देशमा भएकाले टिममा नरहेके जानकारी गराए । तथापि युवा खेलाडीमा पनि पर्याप्त अनुभव भएका कारण राम्रो प्रदर्शन गर्ने उनले दाबी गरे ।

हङकङका प्रशिक्षक जोसे रिकार्डो र्याम्बोले कोभिड १९ महामारीको बीचमा पनि टोलीले नियमित प्रशिक्षण गरेको बताउँदै त्यही अनुसार सफल नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, 'हाम्रो तयारी राम्रो छ । बहुसंख्यक खेलाडी एकेडेमीकै भए पनि हाम्रो टोली बलियो छ ।'

छनोटका लागी काठमाडौंबाट सोमबार राती प्रस्थान गरेको नेपाली टोली मंगलबार राती उज्वेकिस्तानको राजधानी तास्केन्त पुगेको थियो ।

विमानस्थल ओर्लिएलगत्तै नेपाली टोलीको पिसिआर परिक्षण गरिएको थियो । त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

समूह 'एफ'मा नेपालले असोज २ मा फिलिपिन्सको सामना गर्दै एएफसी महिला एसियन कप छनोटको यात्रा थालनी गर्नेछ । दोस्रो खेलमा नेपालले असोज ५ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शीर्ष स्थानमा बस्ने टोली अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले काठमाडौंमा ब‌गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले २-१ को नतिजामा जितेको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी नतिजामा चित्त बुझाएको थियो ।