ऐयरको पुनरागमनबाट पोन्टिङ उत्साहित

नयाँ दिल्ली, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङले श्रेयस ऐयर टोलीमा फर्किनु निकै खुसीको कुरा भएको बताएका छन् । 

‘उनी टोलीमा फकिर्नु निकै खुसीको कुरा हो । उनीसँग प्रभावकारी व्यक्तित्व छ । मैले उनीसँग कुरा गरिरहेको छु र प्रशिक्षण पनि निकै राम्रो भइरहेको छ,’ पोन्टिङले भने, ‘उनी फेरी मैदान फर्किदै रन जोड्न र टोलीलाई जित दिलाउन उत्साहित छन् । उनी एक विश्वस्तरीय खेलाडी हुन् र उनी टोलीबाट थप धेरै उपलब्धि हासिल गर्न चाहन्छन् । यसमा दुइमत छैन् ।’ 

यद्पी पूर्व कप्तान ऐयर मैदान फर्किने भएपछि दिल्लीले कसलाई कप्तानको जिम्मेवारी दिन्छ भन्ने दुविधा देखिएको छ । यसअघि पाखुरामा चोट लागेपछि ऐयरले कोभिड १९ का कारण प्रतियोगिता स्थगित हुनुअघिका खेलहरु गुमाएका थिए । 

ऐयरको अनुपस्थितिमा दिल्लीले कप्तानको जिम्मेवारी विकेटकिपर ब्याट्सम्यान ऋसभ पन्तलाई दिएको थियो । 

मे चारमा स्थगित भएको आइपिएल सेप्टेम्बर १९ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा पुनः सञ्चालन हुदैछ । दिल्लीको खेल २२ अक्टोबरमा सनराइजर्स हैदराबादविरुद्ध छ ।