फ्रान्स भ्रमणमा सन अनुपस्थित 

लन्डन, (खेलाडी)- टोटनहमका प्रशिक्षक नुनो एस्पेरिटो सान्टोले घाइते स्ट्राइकर सन ह्युङ मिनले युरोपा कन्फरेन्स लिगको पहिलो खेल गुमाउने बताएका छन् । 

अन्र्तराष्ट्रिय ब्रेक दौरान खुट्टामा चोट लागेपछि उनले इङ्लिस प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेस विरुद्धको खेल गुमाएका थिए । 

चोटकै कारण केही समयदेखि आराममा रहेका सनले कन्फरेन्स लिगअन्तर्गत आज राति समूह ‘जी’ मा रेनेसविरुद्धको खेलका लागि फ्रान्सको भ्रमण गर्ने छैनन् । 

यस्तै, क्रिस्टल प्यालेस विरुद्धको खेलको १२औं मिनेटमा घाइते भएपछि रक्षक इरिक डायरले मैदान छोड्नु परेको थियो । युरोपेली क्लब फुटबलमा तेस्रो श्रेणीको प्रतियोगिताअन्तर्गत आजको खेलमा डायर पनि आराममा हुने छन् ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले यही वर्षदेखि महादेशीय क्लब फुटबलमा च्याम्पियन्स लिग र युरोपा लिगपछि तेस्रो श्रेणीको प्रतियोगिता सुरु गरेको हो । 

प्रशिक्षक सान्टोले आइतबार प्रिमियर लिगको खेलमा चेल्सीविरुद्ध हुने लन्डन ‘डर्बी’ मा दुवै खेलाडीको उपस्थिती अझै निश्चित भइनसकेको बताए । 

‘म भन्न सक्दिन । उनीहरुमा प्रत्येक दिन सुधार भइरहेको छ । तर दक्षिण अमेरिकी खेलाडीको हामीले अझै मूल्यांकन गर्नुपर्ने हुन्छ,’ उनले भने ।