सान्चो र भारानेको उपस्थितीले उत्साहित युनाइटेड

म्यानचेस्टर, (खेलाडी)- इङ्लिस प्रिमियर लिगमा गत सिजन अपेक्षित नतिजा निकाल्न नसक्दा आलोचना खेपेको म्यानचेस्टर युनाइटेडले शनिबारबाट सुरु हुने नयाँ सिजनमा सुधारिएको प्रदर्शन गर्ने आशा राखेको छ ।

नयाँ सिजनका लागि सरुवा बजारबाट भित्र्याइएका दुई नयाँ खेलाडीको उपस्थितीले आगामी सिजन लिगमा राम्रो प्रदर्शन गर्ने टोलीको आशा बढेको हो । 

दोस्रो स्थानमा रहँदै वितेको सिजन अन्त्य गरेको युनाइटेडले नयाँ सिजनका लागि जाडोन सान्चो र राफेल भारानेलाई अनुबन्ध गरेको छ । सान्चो जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा भाराने स्पेनिस क्लब रियाल मड्रिडबाट युनाइटेड सरुवा भएका हुन् । 

१७ महिनापछि युनाइटेडले ७६ हजार दर्शक क्षमताको रंगशालामा दर्शक राखेर प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्दै छ, जहाँ टोलीले लिड्स युनाइटेडविरुद्ध पहिलो खेल खेल्नेछ । युरोपा लिगको फाइनलमा भिलारियालसँग पेनाल्टीमा स्तब्ध भएको युनाइटेड अझै तीन वर्षसम्म ओले गनर सोल्सायरको नेतृत्वमा मैदान उत्रिनेछ । सोल्सायर र क्लबबीच अघिल्लो महिना मात्र सम्झौता नवीकरण भएको थियो । पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले सन् २०१३ मा क्लब छाडेयता युनाइटेडको प्रदर्शन कमजोर हुँदै आएको छ । 

पछिल्ला दुई सिजनमा भने पूर्व स्ट्राइकर सोल्सायरको नेतृत्वमा पुरानो लय समाउने प्रयासस्वरुप युनाइटेडले लगातार च्याम्पियन्स लिगमा पुनरागमन जनाएको थियो ।