गौरिकाको प्रदर्शन औसतमात्र

काठमाडौं, (खेलाडी)- जारी टोकियो ओलम्पिकमा उच्च प्रदर्शनको अपेक्षा गरिएकी नेपाली पौडीवाज गौरिका सिंह औसत प्रदर्शनमा सिमित हुँदा उनको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । 

गौरिका हिटबाटै बाहिरिएपछि टोकियो ओलम्पिकमा सहभागि पाँच नेपालीमध्ये चार खेलाडीको चुनौती समाप्त भएको छ ।

टोकियो एक्वाटिक्स सेन्टरमा बुधबार भएको सय मिटर फ्रिस्टाइलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेकी गौरिका १ मिनेट ००.११ सेकेन्डको टाइमिङका साथ चार खेलाडी समावेश आफ्नो हिटमा तेस्रो भइन् । कुल ५१ जना सहभागी उक्त विधामा गौरिका ५०औं स्थानमा रहिन् । उनले आफ्नै हिटमा रहेकी ग्वामकी खेलाडी मिनेरी गोमेजलाई मात्र पछि पारिन् । 

बुधबारकै हिटमा अस्ट्रेलियाकी इम्मा म्याककिओनले ५२.१३ मा निर्धारित दुरी पार गर्दै ओलम्पिकमा नयाँ कीर्तिमान कायम गरिन् । यसै विधामा स्विडेनकी साराह सोस्ट्रोमको नाममा ५१.७१ को विश्‍व कीर्तिमान छ । 

यद्यपि, ओलम्पिकमा मध्यम प्रदर्शन गरे पनि गौरिकाले आफ्नो व्यक्तिगत समयमा भने सुधार गरिन् । ग्वानझाउमा सम्पन्‍न १८औं फिना विश्‍व च्याम्पियनसिपमा गरेको १ मिनेट ००.६२ सेकेन्डको प्रदर्शन उनको व्यक्तिगत उत्कृष्‍ट समय थियो । 

गौरिकाको बर्हिगमनसँगै नेपालका गौरिका, सुटिङकी कल्पना नेपाली, जुडोकी सोनिया भट्ट र पौडीकै एलेक्जेन्डर शाहको चुनौती समाप्त भएको छ । अब यस ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालको अन्तिम चुनौती एथलेटिक्सकी सरस्वती चौधरीले पेश गर्नेछिन् । उनले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छिन् ।