युरो २०२० मा रुसको पहिलो जित

सेन्ट पिट्सबर्ग, (खेलाडी)- एलेक्सी मिरान्चुकको एउटै गोल निर्णायक बनेपछि रुसले बुधबार साँझ फिनल्यान्डमाथि १-० को जित हासिल गर्दै जारी युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा अंकको खाता खोलेको छ । 

पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित रुसले बुधबार घरेलु सेन्ट पिट्सबर्ग रंगशालामा फिनल्यान्डलाई हराउँदै समूह ‘बी’मा पहिलो तीन अंंक हासिल गरेको हो । फिनल्यान्डले भने पहिलो खेलमा डेनमार्कलाई १-० को नतिजामा स्तब्ध पारेको थियो । 

क्रिस्टियन इरिक्सन मैदानमा बेहोस भएर ढलेपछि १ सय मिनेटभन्दा बढि समय रोकिएको खेलमा डेनमार्कमाथि जित हासिल गरेको फिनल्यान्डले बुधबार अर्को स्तब्धतापूर्ण नतिजाको संकेत गरेको थियो । तर चौथो मिनेटमै जोइल पोजानपालोले गरेको गोल भिएआरले अस्विकृत गरेका कारण टोली सुरुआति अग्रता लिनबाट बञ्‍चित भयो । 

रेफ्रीले भिएआरको सहायता लिँदा पोजानपालो अफसाइड पोजिसनमा देखिएका कारण उक्त गोल अमान्य भएको थियो । जहाँ पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले आर्टेन डिज्युबाको पासमा गोल गर्दै रुसको जित पक्का गरे । 

समूहको अर्को खेलमा भोली पौने दश बजे डेनमार्क र बेल्जियमले प्रतिस्पर्धा गर्नेछन् ।