बाकुमा टर्की र वेल्स दुवै जितको खोजीमा

बाकु, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गत आफ्नो पहिलो खेलमा स्विटरजल्यान्डविरुद्ध हारको संघारबाट मुश्किलले जोगिएको वेल्स आज राति टर्कीविरुद्ध मैदान उत्रिँदा जितका साथ समूह ‘ए’ बाट नकआउट चरणको सम्भावना कायम राख्‍न चाहन्छ ।

वेल्सका प्रशिक्षक रोबर्टो पेजले स्विटजरल्यान्डविरुद्ध ४-२-३-१ को शैलीमा टिम उतारेका थिए । आज राति नेपाली समयअनुसार साढे ९ बजे बाकुमा टकीविरुद्ध मैदान उत्रिँदा पनि त्यही शैलीले निरन्तरता पाउने छ । वेल्सका  स्ट्राइकर केइफर मोर आजको खेलमार्फत टोलीलाई नकआउट चरणको बाटोमा डोर्याउने सारथी बन्‍न सक्छन् । 

‘सराकात्मक सुरुआत गर्न आवश्यक थियो । तर हामी एक अंकमा खुम्चिन पुग्यौं,’ पेजले भने, ‘अब हामीसामु नकआउट चरणमा स्थान बनाउन बाँकी रहेका दुवै खेल जित्‍नुको विकल्प छैन । हामी टर्कीलाई कमजोर टोलीेका रुपमा लिदैनौं । मैदानमा आफ्नो तर्फबाट पूरा मेहनत गरेर जितका लागि प्रयास गर्नेछौं ।’

यता समूहको पहिलो खेलमा घरेलु टोली इटालीविरुद्ध निकै कमजोर देखिएको टर्की वेल्सविरुद्ध सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ । इटालीविरुद्ध टर्की विशेष गरि मिडफिल्डमा चुकेको थियो । त्यसैले प्रशिक्षक सेनोल ग्युनेसले मिडफिल्डमा केही परिवर्तन गर्न सक्छन् । आफ्नो स्वभाविक ३-४-३ को शैली भन्दा पनि सेनोलले पेजकै ४-२-३-१ को शैलीमा टोली मैदान उतार्ने सम्भावना बढी छ ।