युरोपियन च्याम्पियनसिपमा विश्‍व च्याम्पियन फ्रान्सको विजयी सुरुआत

म्युनिख, (खेलाडी)- विपक्षी टिमबाट आत्मघाति गोलको उपहार पाएपछि विश्‍वकप २०१८ को च्याम्पियन फ्रान्सले गएराति युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा विजयी सुरुआत गरेको छ ।

जर्मनीको म्युखिखमा भएको समूह ‘एफ’को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को नतिजामा जित निकाल्यो ।

फ्रान्स र जर्मनीसहित, साविक विजेता पोर्चुगल र हंगेरी रहेको समूह ‘एफ’लाई जारी युरो २०२० को ‘ग्रुप अफ डेथ’ मानिएको छ । 

२०औं मिनेटमा फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा बलले जर्मनीका रक्षक म्याटस् हुमेल्सलाई छुँदै जाली चुमेको थियो । 

फ्रान्सले गरेका दुई गोल अफसाइड भएपछि टोली जर्मनीमाथि थप फराकिलो जितबाट बञ्‍चित भएको थियो ।

फ्रान्सका किलियन एमबाप्पेले ५२औं मिनेटमा गरेको गोल अफसाइड भएको थियो भने ८४औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले पनि मान्यता पाएन । 

समूह ‘एफ’मै केही बेरअघि सम्पन्‍न खेलमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा हंगेरीमाथि ३-० को जित हात पारेको थियो ।