रोनाल्डोले कीर्तिमान बनाएको दिन पोर्चुगलको विजयी सुरुआत

बुदापेस्ट, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा उच्च गोलकर्ता बन्‍ने कीर्तिमान रच्दा मंगलबार साविकको विजेता पोेर्चुगलले युरो २०२० मा सुखद सुरुआत गरेको छ । 

रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलले समुह ‘एफ’मा हंगेरीमाथि ३-० को जित हात पार्‍यो । पोर्चुगलका लागि कप्तान रोनाल्डोले दुई गोल गर्दा अर्को गोल राफाइलले गरे ।

८४औं मिनेटमा राफाइलको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । त्यसको ४ मिनेटपछि रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै युरोपियन च्याम्पियनसिप इतिहासमै सबभन्दा बढि गोल गर्ने खेलाडीका रुपमा आफ्नो नाम लेखाए । प्रतियोगितामा उनको यो दशैं गोल थियो । 

उनले चार वर्षअघि फ्रान्समा सम्पन्‍न युरो २०१६ मा फ्रान्सकै पूर्व स्टार मिचेल प्लाटीनीको नाममा रहेको ९ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युरोमा आफ्नो गोल संख्या ११ पुर्‍याएका थिए ।

साथै रोनाल्डोको नाममा युरोपियन च्याम्पियनसिपको लगातार पाँच संस्करणसम्म खेल्ने कीर्तिमान समेत बनेको छ । रोनााल्डोले सन् २००४, २००८, २०१२ र २०१६ को युरो खेलिसकेका छन् । रोनाल्डोले सन् २००४ को युरोमा दुई, २००८ मा दुई, २०१२ मा तीन र २०१६ मा  दुई गोल गरेका थिए ।

साथै रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानको संघारमा समेत पुगेका छन् । उनको नाममा १ सय ६ अन्तर्राष्‍ट्रिय गोल छ । इरानका अली दाईको नाममा १ सय ९ गोलको सर्वाधिक अन्तर्राष्‍ट्रिय गोलको कीर्तिमान रहेको छ ।