लुकाकु विश्व स्तरीय स्ट्राइकर : टचेल

लन्डन, (खेलाडी)- चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले च्याम्पियन्स लिगको खेलमा गए राति जेनिट सेन्ट पिट्सबर्गमाथि १-० को जित हासिल गरेपछि ‘विश्व स्तरीय’ रोमेलु लुकाकुको प्रशंसा गरेका छन् । 

गए रातिको खेलमा दुई टोलीबीचको अन्तर साविक विजेताका लागि निर्णायक गोल गरेका लुकाकु थिए । उनकै गोलमा चेल्सीले घरेलु स्टामफोर्ड ब्रिजमा कठिन जित हासिल गर्दै उपाधि रक्षाको अभियान सुरु गरेको थियो । 

शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत एस्टन भिल्लाविरुद्धको खेलमा दुई गोल गरेपछि क्लबले कीर्तिमानी मुल्यमा भित्र्याएका लुकाकुले गए राति रुसी च्याम्पियन जेनिटविरुद्ध निक्कै उचाईको बललाई उफ्रिएर हेडमार्फत गोलमा परिणत गरेका थिए । 

इटालियन सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानबाट लन्डन आएयता उच्च फर्ममा रहेका बेल्जियमका अन्तर्राष्ट्रिय फरवार्डले चेल्सीका लागि चार गोल गरिसकेका छन् । 

‘रोमेलु लुकाकुको प्रदर्शन सहज थिएन । हामीले उनका लागि धेरै अवसर सिर्जना गर्न सकिरहेका थिएनौं । तर उनी यस्ता खेलाडी हुन्, जो कहिल्यै पनि आत्मविश्वास गुमाउँदैनन् । त्यही कारण उनी यहाँ छन् र आफूलाई एउटा विश्व स्तरीय स्ट्राइकरका रुपमा स्थापित गरेका छन्,’ लुकाकुको प्रशंसामा टचेलले भने, ‘यस्तो गुण भएको स्ट्राइकर पाउन कठिन हुन्छ । आफ्नो टिमका लागि नियमित रुपमा गोल गरिहने खेलाडी जहिल्यै महत्वपूर्ण हुन्छ ।’

फुटबलमा धेरै गोल नहुने बताउँदै टचेलले एउटै गोलले पनि खेलको लय परिवर्तन गर्ने र बाँकी खेलाडीको मनोबल बढाउने भएकाले लुकाकुको महत्व झनै बढेको प्रष्ट्याए । 

‘एउटा आधा अवसर वा एउटा अवसर नै लुकाकुलाई गोल गर्नका लागि पर्याप्त हुन्छ,’ टचेलले भने, ‘उनीसँग प्रतिभामात्र होइन, उनीसँग विश्वास छ । उनीसँग धैर्य छ । मेहनत गरिरहने बानी छ ।’

२०१९–२० को सिजन सुरु भएयता लुकाकुले च्याम्पियन्स लिगमा १४ गोल गरिसकेका छन् । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यसबीचमा उनीभन्दा बढि गोल गर्नेमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्की (२२), बोरुसिया डर्टमन्डका इर्लिङ हल्यान्ड (२०) र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज (१७) मात्र छन् ।