उपाधि रक्षाको अभियान सुरु गर्दै पोर्चुगल, विजयी सुरुआतको आवश्यकता

बुदापेस्ट, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०)मा उपाधि रक्षा गर्ने दोस्रो टोली बन्‍ने लक्ष्यमा रहेको साविकको विजेता पोर्चुगलले आज राति हंगेरीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ । 

फर्नान्डो सान्तोषको टोली मंगलबार समूह ‘एफ’को खेलमा आज राति पौने दश बजे हंगेरीविरुद्ध मैदान उत्रिनेछ । सन् २००८ को विजेता स्पेन सन् २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो ।

उपाधि रक्षाको अभियान सफल पार्न पोर्चुगललाई प्रतियोगितामा विजयी सुरुआत गर्नु अति आवश्यक छ । किनकी यही समूहमा पोर्चुगल र हंगेरीसँगै गत संस्करणको उपविजेता एवं विश्‍वकप २०१८ को च्याम्पियन फ्रान्स र युरोपेली फुटबलको सदावाहर दाबेदार जर्मनी छन् । त्यसैले नकआउट चरण प्रवेश गर्नका लागि समेत पोर्चुगलका लागि हंगेरीविरुद्धको खेलको नतिजा महत्वपूर्ण हुनेछ ।

सन् २०१६ मा घरेलु टोली फ्रान्सलाई निराश पारेको पोर्चुगलले अहिले पनि टिममा अधिकांश पुरानै खेलाडी समेटेको छ । कप्तान क्रिस्टियानो रोनाल्डो विश्‍व कीर्तिमानी १ सय ९ अन्तर्राष्‍ट्रिय गोलको कीर्तिमानभन्दा ५ गोलले मात्र टाढा छन् ।

पाृर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिपको समूह चरणमा एउटै खेल नजिति नकआउट चरणको यात्रा गरेको थियो । समूहका सबै खेलमा बराबरी नतिजा निकालेको सान्तोषको टोली ३ अंकका साथ समूह चरण पार गर्न सफल भएको थियो । समूह विजेताका रुपमा हंगेरी र उपविजेताका रुपमा आइसल्यान्ड नकआउट चरणमा प्रवेश गरेका थिए । पोर्चुगल भने तेस्रो स्थानमा रहनेमध्येको उत्कष्‍ट टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अतिरिक्त समयसम्म संघर्ष गर्दै क्रोएसियालाई निराश बनाएको पोर्चुगलले क्‍वार्टरफाइनलमा पोल्यान्ड र सेमिफाइनलमा वेल्सलाई हराएको थियो । समूह चरणमा जितको स्वाद नचाखेको पोर्चुगले फ्रान्सलाई स्तब्ध पार्दै  युरो २०१६ को उपाधिमा कव्जा जमाएको थियो ।

युरोपियन च्याम्पियनसिपको इतिहासमा पोर्चुगल सधै दाबेदार टोलीको रुपमा रहदै आएको छ । पोर्चुगल सन् १९८४, २००० र २०१२ मा सेमिफाइनल प्रवेश गरेको थियो भने सन् १९९६ र २००८ मा क्‍वार्टरफाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो । सन् २००४ मा घरेलु मैदानमा सम्पन्‍न प्रतियोगिताको फाइनलमा पोर्चुगल ग्रिससँग स्तब्ध भएको थियो ।

पोर्चुगल पछिल्ला ६ अन्तर्राष्‍ट्रिय खेलमा अपराजित रहदै आएको छ । युरो २०२० अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने इजरायललाई ४-० ले हराएको थियो ।

‘पक्कै पनि हामी उपाधिको दाबेदार टोली हौं । समूह चरण पार गर्न नसके त्यो टोलीको अहिले सम्मकै ठूलो असफलता हुनेछ,’ पोर्चुगलका प्रशिक्षक सान्तोषले भने, ‘हामी उपाधि रक्षाको लक्ष्यका साथ यहाँ आएका हौं । हामी लयमा छौं । त्यसैले हामी युरोपियन फुटबलमा अर्को सफलता चुम्‍नेमा विश्‍वस्त छौं ।’

यता हंगेरीले सन् १९६४ को युरोपियन च्याम्पियनसिपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो । सन् १९६८ को संस्करणमा भने हंगेरी पहिलो पटक युरोपियन च्याम्पियन बन्यो । तर त्यसयता सन् २०१६ को संस्करणसम्म हंगेरीले प्रतियोगिताको छनोट चरण समेत पार गर्न सकेको थिएन ।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा समूह विजेताका रुपमा नकआउट चरण पुगेको हंगेरी अन्तिम १६ को खेलमा बेल्जियमसँग लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो ।

हंगेरी प्लेअफमा बुल्गेरिया र आइसल्यान्डलाई हराउदै युरो २०२० का लागि छनोट भएको थियो ।

‘हामी समूह चरण पार गर्न चाहन्छौं,’ हंगेरीका प्रशिक्षक मार्को रोसीले भने, ‘हामी प्रतियोगितामा आफ्नो विशेष छाप छोड्न चाहन्छौं । हामी युरोपियन फुटबलमा हंगेरीको विगतको साख फर्काउन चाहन्छौं ।’