रोमेरोको दुई गोलमा पाराग्वेको विजयी सुरुआत

रियो दी जेनेरियो, (खेलाडी) -पाराग्वेले १० जनामा सिमित भएको बोलिभियाविरुद्ध दोस्रो हाफमा पुनरागमन जनाउँदै ३-१ को जित हासिल गर्दा कोपा अमेरिकाको खेलमा आज विहान एन्जेल रोमेरोले दुई गोल गरे ।

कोभिड १९को संक्रमणका कारण प्रेरणादायी कप्तान मार्सेलो मार्टिन्ससहित तीन पहिलो रोजाईका खेलाडीको अनुपस्थितीमा मैदान उत्रिएको बोलिभियाविरुद्ध पाराग्वेलाई दाबेदारको रुपमा हेरिएको थियो । 

बोलिभिया यसअघि १९९७ मा एक पटकमात्र कोपा अमेरिकाको समूह चरण पार गर्न सफल भएको थियो । त्यतिबेला टोलीले उपविजेताको पदक भिरेको थियो । तर आज विहान १०औं मिनेटमै इर्विन साभेड्राले पेनाल्टीमा गोल गरेपछि बोलिभिया पाराग्वेमाथि अनपेक्षित अग्रता लिन सफल भएको थियो । 

पहिलो हाफमा पाराग्वेले खेलमा जति दबाब कायम राखे पनि बोलिभिया १० जनामा सिमित नभएसम्म नतिजा निकाल्न सकेन । पहिलो हाफको इन्जुरी समयमा जाउमे कुइलरले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि बोलिभिया १० खेलाडीमा सिमित भयो । 

लगत्तै दोस्रो हाफमा पाराग्वेको आक्रमण झन धारिलो बन्‍न थाल्यो । एक खेलाडी बढि हुनुको फाइदा उठाउँदै ६२औं मिनेटमा एलेसान्द्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेट नबित्दै एन्जेल रोमेरोले व्यक्तिगत गोलको खाता खोल्दै पाराग्वेलाई २-१ को अग्रता लिलाए भने समय सकिन १० मिनेट बाँकी रहँदा उनैले टोलीका लागि तेस्रो गोल गरे ।