चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

रियो दी जेनेरियो, (खेलाडी)- लियोनेल मेसीले फ्रिकिकमा गोल गर्नाका बावजुद अर्जेन्टिनाले आज विहान कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा विजयबाट विमुख हुनु परेको छ ।

चिलीका स्ट्राइकर इडुवार्डो भार्गसले बराबरी गोल गरेपछि मेसीको गोल अर्जेन्टिनालाई जित दिलाउन पर्याप्त भएन । खेल १-१ को बराबरीमा टुंगियो । 

पहिलो हाफमा अर्जेन्टिनाले खेलमा प्रभाव राख्दै थुप्रै अवसरहरु पनि सिर्जना गरेको थियो । त्यही क्रममा कप्तान मेसीले ३३औं मिनेटमा फ्रिकिकमा दर्शनीय गोल गरेका थिए । 

तर इटेडियो निल्टन सान्तोषमा मध्यान्तरपछि भार्गसले चिलीको उद्धार गरे । आर्टुरो भिडालको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बचाएपछि रिबाउन्डमा प्राप्त बललाई भार्गसले गोलमा परिणत गरेका थिए । 

समूह ‘ए’मा अब अर्जेन्टिनाले शनिबार उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसअघि शुक्रबार बोलिभिया र चिलीबीच खेल हुनेछ ।