मोराटा चुक्दा स्पेन स्विडेनसँग बराबरीमा रोकियो

सेभिया, (खेलाडी)- तीन पटकको पूर्व विजेता स्पेनले युरोपियन च्याम्पियनसिप (युरो २०२०) को निराशाजनक सुरुआत गर्ने क्रममा टोली गए राति घरेलु मैदानमा स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । 

लुइस इनरिकेको टोलीले सेभियाको मैदानमा सम्पन्‍न समूह ‘इ’को खेलमा पूरा समय खेल आफ्नो नियन्त्रणमा राखेको थियो । समग्रमा ७५ प्रतिसत बल पोसेसन आफ्नो पक्षमा राखेर गोलका लागि थुप्रै अवसर सिर्जना गर्नाका बावजुद स्पेनले विजयी गोल भने निकाल्न सकेन । 

स्पेनको विजयसहित सुरुआतमा गए राति अल्भारो मोराटा खलनायक सावित भए । स्पेनका फरवार्ड मोराटाले विपक्षी गोलकिपरसँग वान भर्सेज वानको अवस्थामा पाएको अत्यन्तै सुनौलो अवसरमा बललाई पोष्‍टको दिशा दिन नसक्नु घरेलु टोलीको दूर्भाग्य थियो । 

समूहमा यसअघि सम्पन्‍न खेलमा स्लोभाकियाले पोल्यान्डमाथि २-१ को जित हासिल गरिसकेको अवस्थामा स्पेन बराबरीमा रोकिएको थियो । पहिलो चरणका खेल सकिँदा स्लोभाकिया तीन अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा स्पेन र स्विडेनको खातामा समान एक अंक छ भने पोल्यान्डको खातामा कुनै अंक छैन । 

दोस्रो खेलमा स्पेनले शनिबार सेभियामा पोल्यान्डलाई निम्त्याउँँदा स्विडेन र स्लोभाकियाले सेन्ट पिट्सबर्गमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।