मालिंगाले लिए संन्यास

कोलम्बो, (खेलाडी)- श्रीलंकाली क्रिकेट टोलीका पूर्व कप्तान लसिथ मालिंगाले सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । 

सन् २०१४ को ट्वान्टी २० विश्वकप विजेता टोलीका सदस्य मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट संन्यास लिएको जानकारी गराएका हुन् । 

३८ वर्षका मालिंगाले यसअघि २०१९ मा टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । 

तीव्र गतिका बलर मालिंगाले श्रीलंकाबाट ३० टेस्ट, दुई सय २६ एकदिवसीय र ८४ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मालिंगाले टेस्टमा एक सय एक, एकदिवसीयमा तीन सय ३८ र ट्वान्टी २० मा एक सय सात विकेट लिएका छन् । 

सन् २००४ मा अस्ट्रेलियाविरुध्दको टेस्टबाट ‘डेब्यु’ गरेका मालिंगाले राष्ट्रिय टोलीबाट अन्तिम खेल ६ मार्च २०२० मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए ।