विजयी सुरुआतको लक्ष्यमा तीन पटकको पूर्व च्याम्पियन स्पेन

सेभिया, (खेलाडी)- तीन पटकको पूर्व च्याम्पियन स्पेनले आज घरेलु मैदानमा स्विडेनविरुद्धको खेलसँगै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को यात्रा सुरुआत गर्नेछ । 

१९६४, २००८ र २०१२ को च्याम्पियन स्पेन र स्विडेनबीच पछिल्लो पटक भएका दुई भिडन्तमध्ये एकमा स्पेनले बाजी मारेको छ भने अर्को खेल बराबरीमा सकिएको थियो ।

स्पेनले युरो २०२० का लागि नियमित कप्तान सर्जियो रामोसलाई विश्राम दिँदै युवा खेलाडीमा विश्‍वास देखाएको थियो । तथापि स्विडेनविरुद्ध सुखद नतिजा निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गर्नेमा स्पेनिस प्रशिक्षक लुइस इनरिके विश्‍वस्त छन् ।

‘स्विडिस टोलीमा एकै जनाले खेलको नतिजामा प्रभाव पार्ने कुनै खेलाडी छैनन् । उनीहरु टिम वर्कमा विश्‍वास गर्छन्, यो नै हाम्रो लागि मुख्य चुनौती हो,’ स्पेनका प्रशिक्षक लुइुस इनरिकेले भने, ‘उनीहरुको बलियो रक्षापंक्ति तोड्नु हाम्रा लागि कठिन बन्‍न सक्छ । आशा छ, टोलीले प्रतियोगितामा सुखद सुरुआत गर्नेछ ।’

यता स्विडेनले सन् २००४ पछि युरोपियन च्याम्पियनसिपमा समूह चरण पार गर्न सकेको छैन । यद्धपी स्विडेनले सन् २०१८ को रुस विश्‍वकपमा भने अन्तिम १६ को यात्रा तय गरेको थियो ।

जारी युरो २०२० लाई स्विडेनका प्रशिक्षक यान एन्डरसनले स्पेनसँग विगतको बदला लिने अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । 

‘वर्तमान विश्‍व फुटबलमा स्पेनविरुद्ध खेल्नु कुनै पनि टोलीका लागि सबै भन्दा ठूलो चुनौती हो,’ स्विडेनका प्रशिक्षक यान एन्डरसनले भने, ‘तर पनि हामी स्पेनलाई कडा चुनौती दिन तयार छौ । हाम्रा लागि स्पेनविरुद्ध बदला लिने यो नै सुनौलो अवसर समेत हो ।’