धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु

काठमाडौं, (खेलाडी)- नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले काभ्रे पलाञ्‍चोकको धुलिखेलमा मोटर स्पोर्टस एकेडेमी सुरु गरेको छ । 

धुलिखेल नगरपालिका तथा अल्टिमेट हिमालयन मोटरल्यानडको समेत सहकार्यमा धुलिखेलको हिमालयन मोटरल्यान्डमा सुरु गरिएको एकेडेमीको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यन्जु श्रेष्‍ठले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले एकेडेमीको सुरुआतले नेपालको मोटर स्पोर्ट्समा नयाँ आयाम थपिने विश्‍वास व्यक्त गर्दै नासा नेपालको एक दशकभन्दा लामो संघर्षको यात्रामा यो एउटा ठूलो उपलब्धि भएको बताए । 

एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, गर्ल अन दी ट्रयाक लगायतका अभियानहरुलाई वार्षिक कार्यक्रमका रुपमा समावेश गरेर अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।  

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोभिड १९ को महामारीले सिथिल पारेको मोटर ल्यान्ड छिट्टै नै विभिन्‍न प्रदेश तथा राष्‍ट्रिययस्तरका खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले  नगरपालिकाबाट प्राप्त सहयोगको लागि धन्यबाद दिँदै धुलिखेललाई खेल पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे  ।