युभेन्टसको खराव सुरुआत, नेपोलीसँग पराजित

नेपोली, (खेलाडी)- मासिमिलियानो एलेग्रीको नेतृत्वमा युभेन्टसको सुस्त सुरुआतले निरन्तरता पाउँदा शनिबार राति उनको टोली नेपोलीमा २-१ ले पराजित भयो । 

युडिनेसीसँग बराबरीमा रोकिएको टोलीले घरेलु मैदानमा इम्पोलीसँग स्तब्धतापूर्ण हार बेहोरेको थियो । शनिबार विपक्षी रक्षक कोस्टास मानोलासको गल्तीमा फाइदा उठाउँदै अल्भारो मोराटाले १२औं मिनेटमा अग्रता दिलाएपछि तेस्रो खेलमा एलेग्री भाग्यमानी हुने संकेत मिलेको थियो । 

तर दोस्रो हाफमा माटियो पोलिटानो र कालीडु कौलिबालीले गोल गर्दै नेपोलीलाई घरेलु मैदानमा जित दिलाए । 

पोलिटानोले ५७औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । समय सकिन पाँच मिनेट बाँकी रहँदा कौलिबालीले गोल गर्दै नेपोलीको जित पक्का गरे । 

इटालियन सिरी ‘ए’को ५२ सिजनमा युभेन्टसले सुरुको तीन खेलमा एउटै जित हासिल गर्न नसकेको यो दोस्रो पटक हो । यसअघि एलेग्री नै प्रशिक्षक हुँदा २०१५-१६ को सिजनमा टोलीले यस्तै निराशाजनक सुरुआत गरेको थियो । 

इटालियन सिरी ‘ए’मा शनिबार राति नै सम्पन्न अन्य खेलमा भेनेजियाले इम्पोली तथा फियोरेन्टिनाले एट्लान्टामाथि २-१ को समान अन्तरमा जित हासिल गरे । 

शनिबार रातिका नतिजापछि तीन खेलसम्म सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिएको नेपोली नौं अंकका साथ शीर्ष स्थानमा रहँदा एक अंकमा सिमित युभेन्टस १६औं स्थानमा थन्किएको छ । फियोरेन्टिना ६ अंकका साथ छैटौं स्थानमा छ । पाँच टोलीको खातामा समान ६ अंक रहँदा गोलअन्तरमा पछि परेका कारण फियोरेन्टिना छैटौं स्थानमा सिमित भएको हो ।

यसैगरी समान तीन अंक जोडेका इम्पोली र भेनेजिया ११ र १२औं स्थानमा छन् भने चार अंकका साथ एट्लान्टा १०औं स्थानमा छ ।