एम्बाप्पेको क्षमतामा कहिले शंका गर्दिनः डेसच्याम्पस्

पेरिस, (खेलाडी)-  फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले स्ट्राइकर किलियन एम्बाप्पेको क्षमतामा कहिले पनि शंका नगरेको बताएका छन् ।

फ्रान्सले बिहीबार बेल्जियममाथि ३-२ को जितका साथ युइएफए नेसन्स कपको फाइनलमा स्थान बनाउँदा एम्बाप्पेले पेनाल्टीमा बराबरी गोल गरेका थिए ।

युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा अवसर गुमाएका एम्बाप्पेले यो गोलसँगै आफू लयमै रहेको संकेत गरेका छन् ।

केही दिन अघि मात्र एम्बाप्पेले युरोपियन च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएपिछि समर्थक र केही टोली सहयात्रीले गरेको व्यवहारले असहज महसुस गरेको भन्दै केही समय फ्रान्सको राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका थिए ।

'किलियन एम्बाप्पेको क्षमताप्रति मलाई कहिले पनि शंका भएन,' डेसच्याम्पसले भने, 'म  एम्बाप्पेकै साथमा रहें । मैले फ्रान्सको राष्ट्रिय टोलीप्रति एम्बाप्पेको लगाव देखेको छु । युरोपियन च्याम्पियनसिपमा चोटका बाबजुद उनी प्रतिबद्ध थिए । एम्बाप्पेसँग हामीले धेरै अपेक्षा राखेका छौं । एम्बाप्पेको उपस्थितिमा फ्रान्सको टोली बलियो देखिदै आएको छ ।'