अर्जेन्टिनी खेलाडीले कोभिड नियम उल्लंघन गर्दा विश्वकप छनोटमा ब्राजिलविरुद्धको खेल रद्ध

रियो दि जेनेरियो, (खेलाडी)- भ्रमणकाारी टोलीका ३ खेलाडीले क्वारेन्टिन नियम उल्लंघन गरेको भन्दै ब्राजिली स्वास्थ अधिकारी मैदान प्रवेश गरेसँगै विश्वकप छनोट अन्तर्गत आइतबार ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएलगत्तै रद्ध गरिएको छ ।

ब्राजिलका स्वास्थ अधिकारीहले इङ्ल्यान्डबाट लिग खेल्दै अर्जेन्टिनी टोलीमा आएका खेलाडीले नियम उल्लंघन गरेको आरोप लगाएसँगै घटना बाहिरिएको हो । एस्टन भिल्लाका इमिलियानो बुन्डिया र इमिलियानो मार्टिनेज तथा टोटेनहमका जियोभानी सेल्सो र क्रिस्टियन रोमेरो प्रिमियर लिगबाट सिधै ब्राजिल पुगेका थिए । यी चार खेलाडी साओ पाउलोमा भएको खेलमा अर्जेन्टिनी टोलीमा समावेश थिए ।

अर्जेन्टिनाले शुक्रबार विश्वकप छनोट अन्तर्गत बोलिभियाविरुद्ध खेल्नेछ । आइतबार रद्ध गरिएको खेल पुनः कुन मितिमा खेलाइन्छ भन्ने अहिले सम्म सार्वजनिक भएको छैन ।

ब्राजिलमा बेलायतबाट आउने कुनै पनि व्यक्ति १४ दिन अनिवार्य क्वान्टिनमा बस्नुपर्ने नियम छ । जुन अर्जेन्टिनी खेलाडीले पालना गरेका थिएनन् ।

‘खेल रेफ्रीको निर्णय अनुसार ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट अन्तर्गतको खेल रद्ध गरिएको छ,’ दक्षिण अमेरिकी फुटबल महासंघले भनेको छ, ‘रेफ्रीले फिफाको अनुशासन कमिटीमा यससम्बन्धी प्रतिवेदन बुझाउने छन् । त्यसपछि मात्र यस बारे थप निर्णय लिइने छ ।’

‘केही अर्जेन्टिनी खेलाडीले क्वान्टिन नियम पालना गरेको देखिएन,’ ब्राजिलका स्वास्थ अधिकारी एन्टोनियो बाराले भने, ‘ती चार खेलाडीलाई आइसोलेसनमा बस्न भनिएको थियो । तर उनीहरुले त्यसको पालना गरेनन् । उनीहरु टोलीसँगै रंगशाला गए र मैदानमा उत्रिए पनि । यसले नियमको गम्भीर उल्लंघन भयो । त्यसैले हामी खेल रोक्न पुगेका हौं ।’