फर्नान्डेज अन्तिम आठमा

न्युयोर्क, (खेलाडी)- क्यानाडाकी लेला फर्नान्डेजले युएस ओपनमा आफ्नो सनसनीपूर्ण यात्रालाई निरन्तता दिने क्रममा सन् २०१६ की विजेता एन्जेलिक केर्बेरलाई हराउदै क्वार्टरफाइनलको टिकट काटेकी छिन् । 

आइतबार भएको अन्तिम १६ को खेलमा फर्नान्डेजले जर्मनीकी केर्बेरमाथि ४-६, ७-६(७/५), ६-२ को जित हात पारिन् । यसअघि अन्तिम १६ मा प्रवेश गर्ने क्रममा फर्नान्डेजले साविककी विजेता नाओमी ओसाकालाई हराएकी थिइन ।

सेमिफाइनल प्रवेशका लागि फर्नान्डेजले पाँचौं वरियताकी इलिना स्येटोलिनाको समाना गर्नेछिन् ।

‘म धेरै खुशी छु । मेरो अविश्मरणीय यात्रा जारी छ,’ उनले भनिन्, ‘म अझै चुनौतीको सामना गर्न तयार छु । मैले स्वभाविक खेललाई निरन्तरता दिँदा सुखद नतिजा आइरहेको छ ।’

यसअघि बेलायती किशोरी इम्मा राडुकानुले पनि सनसनीपूर्ण यात्राका साथ चौथो चरणमा स्थान बनाइसकेकी छिन् ।