भलिबलमा करियर खोज्दै किशोरी दिदीबहिनी 

काठमाडौं, (खेलाडी)- घरबाट स्कुल टाढा थियो, जाँदा आउँदा नै घण्टौं समय बित्ने । स्कुलमा अरुले खेलेको देख्दा कार्की दिदीबहिनीलाई पनि हात सक्सकाउँथ्यो । कहिलेकाँही स्कुल स्तरका प्रतियोगिता हुँदा त झनै भलिबल मोह उत्कर्षमा पुर्‍याउथ्यो । तर, आफूले खेल्न पाए पो !

नेपालको राष्ट्रिय खेल भलिबल सहरको तुलनामा गाउँमा बढि लोकप्रिय छ । सानो ठाउँमा पनि सहजै खेल्न मिल्ने, थोरै मान्छे भए पनि पुग्ने अनि अन्य खेलको तुलनामा कम खर्चिलो भएकाले भौगोलिक रुपमा विकट र आर्थिक रुपमा विपन्न ठाउँमा पनि भलिबल उपयुक्त बन्न सक्छ । यही कारण हो २०७२ सालमा नेपाल सरकारद्धारा भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको । 

पहाडी क्षेत्रमा देशभर नै लोकप्रिय भलिबलको रामेछापमा पनि त्यतिकै क्रेज छ । त्यसैले त हो कार्की दिदीबहिनी मेनुका र प्रेरणालाई यो खेलले यतिबिघ्न मोहित पारेको । 

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा छैटौं राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भर्खरै सम्पन्न भएको छ । विभिन्न ठाउँबाट महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको प्रतियोगितामा मेनुका र प्रेरणाले पनि सहभागिताको मौका पाए । मेनुकाले कोर्टमै उत्रिएर उच्चस्तरीय प्रतियोगिताको अनुभव संगालिन । प्रेरणाले भने टिमसँग नजिक रहेर । 

गाउँमा हुँदा पलाएको भलिबल खेल्ने धोको काठमाडौं आएर उनीहरुले पूरा गर्न थालेका थिए । सपनाको पहिलो खुट्किलो जसरी ढोरपाटन स्पोर्टस क्लब कार्की दिदीबहिनीको लागि उपलब्ध भयो ।

नेपाली भलिबलमा ढोरपाटन स्पोर्टस क्लबको एउटा विशेष छवि छ । विगतमा लामो समय नेपाल भलिबल संघ पूर्ण रुपमा निस्कृय हुँदा आफै प्रतियोगिता आयोजना गरेर खेललाई जीवित राख्न योगदान गरेको श्रेय ढोरपाटनलाई जान्छ । यसैगरी गाउँगाउँबाट सम्भावना बोकेका खेलाडी पहिचान गरेर तिनलाई उचित प्रशिक्षण प्रदान गर्दै स्टारका रुपमा स्थापित गर्ने काममा पनि ढोरपाटनले नाम कमाएको छ ।

यही क्रममा ढोरपाटनको स्काउटिङ (प्रतिभा खोज अभियान)मा फेला परेका थिए, मेनुका र प्रेरणा । भलिबलबाट पहिचान खोज्दै गरेका यी दिदीबहिनीलाई उनीहरुको उचाईबाट लोभिएर क्लबले अनुबन्ध गरेको थियो । 

वर्षले भर्खर १६ लागेकी मेनुकाको उचाई पाँच फिट ११ इन्च छ । उनीभन्दा दुई वर्ष कान्छी बहिनी प्रेरणा भने पाँच फिट आठ इन्चकी छिन् । नेपाली भलिबलमा सबभन्दा ठूलो समस्या भनेकै खेलाडीको होचो कद भएको ढोरपाटनका संस्थापक अध्यक्ष एवं संघका सचिव मनवीर छन्त्याललाई राम्ररी थाहा थियो । यस्तोमा आफूभन्दा अग्ला दुई किशोरी भलिबल खेल्न चाहन्छन् भन्ने थाहा पाएपछि उनलाई के चाहियो, तुरुन्तै क्लबको प्रशिक्षण क्याम्पमा भर्ना गरिहाले ।

‘नानीहरुको उचाई धेरै राम्रो छ । अझै बढ्ने उमेर छ । भलिबलमा चाहिने नै यस्तै अग्ला खेलाडी हो । उनीहरु दुवै जना भलिबल भनेपछि मरिहत्तै गर्ने छन् । त्यसैले नानीहरुको भविश्य राम्रो छ । कुनै दिन उनीहरु नेपाली भलिबलको स्टार खेलाडी बन्नेछन्,’ छन्त्याल भन्छन् ।

मेनुका र प्रेरणाले राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका छन् । त्यही सपना पूरा गर्न उनीहरु रामेछापको बाम्ती भण्डारबाट काठमाडौं आएका हुन् । जुन मेहनत गरे सहजै पूरा हुने देख्छन्, छन्त्याल । भन्छन्, ‘उनीहरुमा भलिबलको सेन्स एकदम राम्रो छ । भलिबलप्रति लगाब छ, खेलको सेन्स राम्रो छ र उचाई पनि राम्रो छ । यति भएपछि राम्रो प्रशिक्षण र मेहनत गरे उनीहरु सजिलैसँग राष्ट्रिय टिममा पुग्न सक्छन् ।’ 

दिदी मेनुका हाल एन्जल सार्क कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् । बहिनी प्रेरणा चाँही कक्षा १० मा पढ्छिन् ।

‘सानैदेखि भलिबल इच्छा हुँदाहुँदै समय र परिस्थितीले गर्दा मौका भने कहिल्यै पाइएन । गाउँमा भलिबल कोही खेल्दैनथ्यो । स्कुलमा भलिबल खुबै हुन्थ्यो । तर हाम्रो घरबाट टाढा भएकाले जाँदाआउँदा नै समय बित्ने । हामीले स्कुलमा पनि खेल्न पाएनौं,’ मेनुका भन्छिन्, ‘अहिले सपना पूरा गर्ने एउटा चरणमा छौं । भलिबल खेल्न पाउँदा सबभन्दा प्यारो चिज पाएजस्तो लागिरहेछ । तर राष्ट्रिय टोलीमा पर्ने मुख्य सपना पूरा गर्न अझै बाँकी छ । त्यसका लागि धेरै मेहनत गर्न बाँकी छ ।’

राष्ट्रिय एनभिए क्लब च्याम्पियनसिपमा मेनुकाले खेल्ने मौका पाए पनि खासै जम्न सकिनन् । पहिलो प्रयास जो थियो । बहिनी प्रेरणाले भने कोर्ट उत्रिने अवसर पनि पाइनन् । तर उनीहरु निराश छैनन् । यो त प्रतिस्पर्धात्मक भलिबलमा पहिलो खुट्किलो थियो । यसमा राम्रो प्रदर्शन र अवसर नपाए पनि दुवैले अनुभव भने धेरै पाएका छन् । 

’रामेछापको एउटा स्कुल स्तरीय प्रतियोगिता सञ्चालन गर्न पुगेका राष्ट्रिय रेफ्री तथा ढोरपाटन स्पोर्टस क्लबका सदस्य खुम गाउँले र लोकेन्द्र छन्त्यालको आँखामा परेपछि मेनुका र प्रेरणाको भलिबल करियरले साचो अर्थमा बाटो समातेको थियो । तर उनीहरुले कार्की दिदीबहिनीलाई खेल्दै गरेको अवस्थामा कोर्टमा देखेका होइनन् । खेल्न पाए पो कोर्टमा देख्नु ! गाउँले र छन्त्यालले बाटोमा हिड्दै गरेका दुई अग्ला वालिका देखेपछि ‘यिनीहरुलाई भलिबल खेलाउन पाए’ भन्ने सोचेका थिए ।

सानै उमेरका नानीहरुमा भलिबल खेलप्रतिको अपार मोह र उच्च कद देखेपछि लोभिएका गाउँले र छन्त्यालले तुरुन्तै यी दिदीबहिनीलाई काठमाडौं ल्याएर आधुनिक प्रशिक्षण दिने निर्णय गरेका थिए । त्यसपछि उनले कार्की परिवारलाई मनाएर मेनुका र प्रेरणालाई काठमाडौं ल्याए । क्लबका अध्यक्ष मनवीर छन्त्यालले तत्कालै कार्की दिदीबहिनीलाई निशुल्क प्रशिक्षण गराउने निर्णय गरे ।

‘साना नानीहरुको ठूलो उचाई देखेर ल्याएका हौं । भलिबलमा उचाईको धेरै महत्व हुन्छ । मेनुका र प्रेरणाको उमेर पनि सानो नै छ । पछि उनीहरुले राम्रो गरेर राष्ट्रिय टिमको प्रतिनिधित्व गर्छन् कि भन्ने आशा छ,’ खुमले भने । 

ढिलै भए पनि उच्च स्तरीय भलिबलमा पहिलो पाइला राखेकी मेनुकामा खुशीको सीमा छैन । उशा भण्डारीलाई आदर्श मान्ने र उनीजस्तै हुने लक्ष्य लिएकी मेनुका भन्छिन्, ‘सपनाको एउटा चरणमा छु । यो अवसरले मभित्र बेग्लै खालको उर्जा पलाएको छ । चाँडै नै राष्ट्रिय भलिबलमा स्थापित हुन्छु । केही वर्षभित्र देशकै उत्कृष्ट खेलाडीको सुचीमा आफूलाई पनि पारेर छोड्छु ।’