दक्षिण अमेरिकी खेलाडी रिलिज नगर्दा विश्वकपमा असमानता हुन्छ : टिटे

रियो दी जेनेरियो, (खेलाडी)- ब्राजिली फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले विश्वकप छनोटका लागि युरोपियन क्लबहरुले दक्षिण अमेरिकी खेलाडीलाई रिलिज नगरेपछि अर्को वर्ष हुने विश्वकपमा असमानता उत्पन्न गराउने बताएका छन् ।

इङ्लिस प्रिमियर तथा स्पेनिस लिग ला लिगाका केही क्लबले रातो सुचिमा रहेको भन्दै खेलाडीलाई दक्षिण अमेरिका फर्कन नदिने निर्णय गरेका छन् । जसका कारण ब्राजिल विश्वकप छनोटअन्तर्गत आइतबार राति हुने अर्जेन्टिनाविरुद्धको खेलमा केही मुख्य खेलाडीविना मैदान उत्रँदैछ ।

ला लिगाले पनि प्रिमियर लिगलाई पछ्याउदै १३ क्लबमा रहेका २५ दक्षिण अमेरिकी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागी आफ्नो देश भ्रमण गर्ने अनुमती दिएको थिएन् । 

प्रिमियर लिग तथा ला लिगाले अनुमती नदिएकै कारण ब्राजिलका कप्तान थियागो सिल्भा, गोलरक्षक एलिसन बेकर, मिडफिल्डर फेडेरिको रोड्रिगो, रक्षक रेनान लोडी, विंगर ग्याब्रियल जिसस, फरवार्ड रिचार्लिसन र रोबर्टो फिर्मिन्हो दक्षिण अमेरिका आउन पाएनन् । 

‘मलाई सबै टोलीका लागि समानता हुनुपर्छ भन्ने लाग्छ,’ टिटेले भने, ‘यसले विश्वकप छनोटको तयारीका लागी ब्राजिल तथा सबै दक्षिण अमेरिकी टोलीमा चोट पुर्‍याएको छ । जसबाट युरोपियन टोलीलाई फाइदा भइरहेको छ ।’ 
 
प्रिमियर लिगकै टोली एस्टन भिल्ला र टोटनहमले भने छनोटको दुई खेल (भेनेजुएला र ब्राजिलविरुद्ध)पछि फर्किने विश्वाससहित इमिलियानो मार्टिनेज, इमिलियानो बुएन्डिया, जियोभानी लो सेल्सो र क्रिस्टियन रोमेरोलाई अर्जेन्टिना फर्कन दिएको थियो । 

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलेनीले भिल्ला र टोटनहमसँगको सहमतिबारे आफूलाई जानकारी नभएको भन्दै उनीहरु बोलिभियाविरुद्धको खेलसम्म राख्ने दाबी गरे ।