Breaking News

प्रोफाइल

धेरैपल्ट सुनेका छौं हामीले । यस्तो पनि हुँदोरहेछ । चन्द्रमामा पहिलो पाइला टेक्ने निल आम्स्ट्रङ थिए । यो सबैलाई थाहा छ । अनि दोस्रो ? कमैलाई मात्र थाहा होला । 

त्यस्तै, नेपाली खेलकुदमै पनि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीबारे कम्तीमा केहीलाई थाहा छ । ती हुन् जितबहादुर केसी । उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथलेटिक्स च्याम्पियनसिपमा म्याराथनतर्फ कांस्य पदक जितेका थिए ।

अनि, नेपाललाई दोस्रो अन्तर्राष्ट्रिय पदक कसले दिलाएका थिए ?

सायद यसको उत्तर दिनसक्ने कमै छन् । बक्सिङमा उमेश मास्केले जितेको कांस्य नै नेपालले जितेको दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यो हाजिरीजवाफका लागि एउटा ठोस प्रश्न र उत्तर भयो । अनि आफैंमा यो धेरै ठूलो उपलब्धि हो । 

सन् १९८० मा मास्केले यो उपलब्धि आत्मसात् गरेका थिए । अवसर थियो, भारतको तात्कालीन बम्बईमा भएको नवौं एसियाली एमेच्योर बक्सिङ च्याम्पियनसिप । मास्केको यो उपलब्धिलाई हेर्ने एउटा अर्को गज्जब कोण पनि छ । यो हो, नेपाली बक्सिङले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।
 
यस्तोमा भन्न कर लाग्छ, मास्केको उपलब्धि नेपाली खेलकुदको दृष्टिकोणले आम्स्ट्रङको पहिलो पाइलाभन्दा कम्ती छैन । भित्री काठमाडौंको मरुस्थित अट्कोनारायण टोलमा जन्मेहुर्केका मास्के अहिले ६५ वर्षका भए । 

टोलकै प्रसिद्ध योङस्टार क्लबमा बक्सिङ सिकेका उनी सुरुआती दिन फुटबलका खेलाडी थिए । एनआरटीबाट योगम्बर सुवाल र महेश्वर मुल्मीसँग फुटबल खेल्थे । कुनै एक दिन ठिटो मास्केले अब बक्सिङ मात्र खेल्छु भन्ने निर्णय के गरे, त्यसपछिका घटनाक्रम त इतिहास नै भए ।
 
सन् १९८० मा नेपालले त्यो नवौं एसियाली एमेच्योर बक्सिङ च्याम्पियनसिप खेल्ने भएपछि छनोट प्रतियोगिता पनि भएको थियो । त्यो छनोटमा के कस्तो भएको थियो, धेरैलाई हेक्का छैन । बम्बईमै कति खेलाडी गएका थिए, त्यो पनि अहिले याद छैन । मास्केकै सम्झनामा एक खेलाडी उनी आफैं भए । अर्का खेलाडी थिए पुष्करध्वज शाही । यो त्यो समय थियो, जतिबेला नेपाली बक्सिङमा दलबहादुर रानामगरको उदयसमेत भएको थिएन ।
 
मास्केलाई के याद छ भने बम्बई गएको टोलीका प्रशिक्षक लक्ष्मण शम्शेर थापा थिए भने व्यवस्थापक मन्जुजंग थापा । अनि तत्कालीन बक्सिङ संघका अध्यक्ष थिए विष्णुगोपाल श्रेष्ठ । 

संघसँग पैसा थिएन, त्यसैले नेपाली टोली बस र रेल चढेर मुम्बई पुग्यो । बम्बई पुग्न साता दिन जत्तिकै लागेको थियो । मास्केले ६० केजी तौल समूहको लाइटवेटमा खेलेका थिए । पहिलो भिडन्तमा बाइ पाए । दोस्रो भिडन्त बंगलादेशी खेलाडीविरुद्ध थियो, त्यो अंकका आधारमा जिते ।

ती बंगलादेशी खेलाडी को थिए, त्यो पनि कसैलाई थाहा छैन । यही जितले उनलाई सेमिफाइनलसम्म पुर्यायो । नेपालले कम्तीमा एक कांस्य पदक जित्ने निश्चित गरेको थियो । 

सेमिफाइनलमा उनका प्रतिद्वन्द्वीबारे भने सबैलाई थाहा छ । ती हुन्, दक्षिण कोरियाका प्रसिद्ध किम डङ किल । उनी त्यो जमानाका कहलिएका बक्सर थिए, प्रतिद्वन्द्वीलाई मौका पायो कि ढालिहाल्ने । फेरि त्यो समय एसियाली बक्सिङमा दक्षिण कोरियाको जगजगी थियो ।

मास्केलाई याद छ, तिनै किम डङविरुद्ध उनी एक मिनेट जति रिङमा टिके तर आरएससीका आधारमा पराजित भए । उनी आफै नकआउट भएनन्, तर किम डङको एक मुक्का उनको दायाँ आँखामा नराम्रोसँग लागेको थियो । लगत्तै आँखा सुन्निएर एक डल्लो जस्तै भएको थियो । त्यहाँबाट रगत पनि बग्यो । यस्तोमा रेफ्रीसामु खेल रोक्नुबाहेक अर्को विकल्प थिएन । तर यो बिर्सनलायक हार भोगे पनि मास्केले एउटा सम्झनलायक पदक भने आफ्नो नाममा लेखाइसकेका थिए ।


 
पदक त जिते, तर होटल फर्केपछि पहिलोपल्ट ऐनामा आफ्नो अनुहार हेर्दा उनी आफैं नराम्रोसँग झस्किए । दायाँ आँखा सुन्निएर टेबलटेनिसको बलजस्तो भएको थियो । त्यसपछि त के चाहियो र ? अबोध मास्के ऐनामा हेर्दै रुन थाले । उनलाई लागेको रहेछ, एउटा आँखा नदेख्ने कानोलाई अब कसले पो बिहे गर्छ ? उनलाई आफ्नो भविष्यबारे साह्रै चिन्ता लागेको थियो । त्यही बेलाको एउटा घटनाले उनी अझै पनि दंग पर्छन् ।
 
भएछ के भन्दा नेपालले बक्सिङमा पदक जितेको समाचार त्यतिबेला बम्बईमा रहेकी प्रसिद्ध गायिका सुष्मा श्रेष्ठले पनि सुनेकी रहिछन् । नेपाली चलचित्रजगतकी प्रसिद्ध यी गायिका अचेल मुम्बई फिल्मी उद्योगमा पूर्णिमा नामले परिचित छन् । टेलिजिभनमा मास्केले कांस्य पदक जितेको सुनेकी थिइन्, त्यसैले यी खेलाडीलाई भेट्न होटलसम्मै आइन् । यता मास्केको हालत ठीक थिएन । 

कुरै कुरामा थाहा भयो, मास्के रहेछन् अट्कोनारायण टोल मरुका । श्रेष्ठ परेछन्, इन्द्रचोकका । आत्मीयता बढिहाल्यो । आखिरमा मरुबाट इन्द्रचोकसम्म दौडियो भने पनि मिनेट भरमै पुग्न सकिन्छ । यस्तोमा श्रेष्ठले सान्त्वना दि“दै भनेकी रहिछिन्, ‘चिन्ता लिनुपर्दैन, यो आँखा चाँडै ठीक हुन्छ ।’ 

उनले भन्दैमा कहाँ हुन्छ र ? त्यो आँखाबाट फेरि हेर्न पाउन एक वर्षजति लाग्यो । निको भएसकेपछि पनि आँखामा एक कालो दाग बस्यो नै । त्यो एक वर्षजति मास्केले आँखामा कालोपट्टि राख्नुपरेको थियो ।
 
यस्तोमा उनको अनुहार कोही सिनेमाका खलनायकको जस्तो थियो । जसको एउटा आँखा छापेको हुन्थ्यो, अर्को आँखा भने खुला हुन्थ्यो । पदक जितेपछि खुसीयालीमा नेपाली टिम रेल र बसबाट काठमाडौं फर्केन, विमानबाट आएको थियो ।

काठमाडौंमा भव्य स्वागत भयो । मास्के परिवारमा खुसीयाली छाएकै थियो । तर मास्केकी आमाले भनेकी रहिछन्, ‘पदक जित्नु त ठीक हो, तर सकेसम्म अबदेखि बक्सिङचाहि“ नखेल्नु ।’ आखिर जन्मदिने आमाले छोराको चोटग्रस्त आँखा कसरी पो हेर्न सक्थिन र ?

Image
\