वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

सुदुरपश्चिम फाइनलमा

काठमाडौं । वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । 

शुक्रबार र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बागमती प्रदेशलाई आठ विकेटले हराउँदै सुदुरपश्चिम प्रदेशले उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि लुम्बिनीले ६ खेलमा १० अंंकसहित समूह विजेताका रुपमा फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । सुदुरपश्चिम भने ६ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

बागमतीले प्रस्तुत गरेको  ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३.१ ओभरमा मात्र दुई विकेटको क्षतीमा पूरा ग¥यो ।

सुदुरपश्चिमका लागि ओपनर नरेन भट्टले ५८ बलमा ६ चौका मद्दतमा ३७ तथा मध्यक्रमका ब्याटर राहुल भण्डारीले ३९ बल खेल्दै पाँच चौका मद्दतमा अविजित ३१ रन जोडे ।

बागमतीका प्रतिस जिसी र गौतम केसीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको बागमतीले ३०.१ ओभरमा ९५ रनमा सीमित भएको थियो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जाेडे  । उनले ७५ बलमा चार चौका प्रहार गरेका थिए ।

यस्तै क्रिस कार्कीले ३० बलमा एक छक्का र दुई चौका मद्दतमा १७ रन बनाए ।

बागमतीलाई सस्तोमा सीमित पार्ने क्रममा सुदुरपश्चिमका हेमन्त धामीले पाँच विकेट र  शेर मल्लले चार विकेट हात पारे । 

फाइनल खेल आइतबार हुनेछ ।