रोनाल्ड कोम्यान

बेहाल बन्दै बार्सिलोना

राडामेल फाल्काओले ३० औं मिनेटमा गोल गरेपछि रोनाल्ड कोम्यानको फाइनल काउन्टडाउन सुरु भयो । कोम्यानको पद धरापमा पर्दै गर्दा घरेलु मैदानमा उपस्थित भालेकानोका १४ हजार समर्थक खुसी मनाइरहेका थिए । उनीहरूको खुसीविरुद्ध बार्सिलोनाका खेलाडी उभिन सकेनन् । गोल फर्काउन सकेनन् । खेल जित्ने त सवाल नै भएन ।

अन्ततः बार्सिलोना प्रतिद्वन्द्वी भालेकानोसँग १९ वर्षमा पहिलो पटक पराजित भयो । स्पेनिस ला लिगाको सबैभन्दा सानो क्लबसँग हारेसँगै बार्सिलोनाका नवौं स्थानमा अड्कियो । भालेकानोको मैदानमा भएको खेल बार्सिलोनाको चौथो अवे खेल थियो । ला लिगाका यी चार खेलमा बार्सिलोनाले एउटै जित हासिल सकेन । गोल पनि एकमात्र फर्काएको छ ।  

भालेकानोसँग पराजित भएपछि कोम्यानलाई भविष्यबारे सोधियो । उनको जवाफ थियो, ‘थाहा छैन ।’ तर कोम्यानलाई थाहा थियो, अब के हुँदै छ भन्नेबारे । सबैले अनुमान गरिसकेका थिए, कोम्यान बर्खास्त हुँदैछन् । किनभने सिजनको सुरुवातबाटै कोम्यानको पद सुरक्षित थिएन । यस्तो लाग्थ्यो, बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले मात्र साइत हेरिरहेका छन् । भालेकानोविरुद्धको खेल लापोर्टाका लागि साइतसरह भयो । खेल हेरिरहेका लापोर्टाले सोचे, अब निर्णय लिने बेला आयो ।

घर फर्कन बार्सिलोनाको टिम विमानस्थल पुग्यो । बार्सिलोना सहर ओर्लंदा खबर आइसकेको थियो, प्रशिक्षक कोम्यान बर्खास्तगीमा परे । संयोग कस्तो भने बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बेर्टोमेउले राजीनामा दिएको एक वर्ष पुगेकै बेला कोम्यान बर्खास्तगीमा परेका हुन् ।

कोम्यानलाई हटाएकोबारे बार्सिलोनाले आधिकारिक वक्तव्य जारी गर्‍यो । जुन छोटो र अनौपचारिक थियो । अनि कोम्यानको स्थानमा को त ? भन्ने प्रश्नको जवाफ पनि दिइएको थिएन । यद्यपि बार्सिलोनाकै पूर्व खेलाडी जाभी हर्नान्डेजको नाम चर्चामा छ । अबको ५ दिनमा बार्सिलोनाले २ खेल खेल्दै छ ।

नयाँ प्रशिक्षक नआउन्जेलसम्म बार्सिलोना ‘बी’ का प्रशिक्षक सर्जी बर्जुआनलाई सिनियर टिमको जिम्मेवारी दिइएको छ । यो अस्थायी समाधान हो । यस्तोमा बार्सिलोनाले चाँडै निर्णय लिन आवश्यक छ । भलै, त्यसतर्फको पहिलो कदम भने चालिएको छ ।

बार्सिलोनामा प्रशिक्षक परिवर्तनको निर्णय अहिले आए पनि यसबारे पहिल्यैबाटै तयारी थियो । बर्खास्तगीको तयारी गरिएको भए पनि कोम्यानको स्थानमा को ल्याउने भन्नेबारे भने तयारी गरेको देखिएन । हुन त अध्यक्ष लापोर्टाले पनि आफ्नो चुनावी नारामा यो प्रशिक्षक बनाउँछु भनेका थिएनन् । उनको नारा एउटा नामवरिपरि थियो, लियोनल मेसी । बार्सिलोनाका कप्तानलाई क्लबमा राख्नेबाहेक महत्वपूर्ण वाचा गरेनन् लापोर्टाले । त्यो काम पनि सम्भव भएन । मेसी फ्रान्सेली क्लब पिएसजीतिर लागे ।

गत मार्चमा अध्यक्ष बनेका लापोर्टाले कोपा डेल रे जित्ने अवसर गुमाएको देखे अनि लिगमा साना टिमसँग बेहोरेको हारको साक्षी भए । त्यसपछि लापोर्टाले आफ्नो बोर्डलाई जानकारी गराए, नयाँ प्रशिक्षकको टुंगो लाग्नासाथ कोम्यानलाई बर्खास्त गर्ने । लापोर्टाले नयाँ प्रशिक्षकको खोजी नगरेका होइनन् ।

तर, बार्सिलोनाले चाहेजस्तो प्रशिक्षक भेटेन वा नाम चलेका प्रशिक्षक बार्सिलोना जान इच्छुक रहेनन् । विकल्प नभेटिएपछि कोम्यानले निरन्तरता पाए । ठूलो ऋणमा फसिरहेको भए पनि बार्सिलोनाले सरुवा बजारमा मेम्पिस डिपे, एरिक गार्सिया, ल्युक डी योङलगायतका खेलाडीलाई अनुबन्ध ग¥यो । खेलाडी थपे पनि बार्सिलोनाको लय सुध्रिएन ।

च्याम्पियन्स लिगमा बेन्फिकासँग हारेपछि लापोर्टा फेरि झस्किए । तर, कोम्यानको बर्खास्तगीको निर्णय गरिहालेनन् । यसको कारण जोर्डी क्राएफलाई मानिएको छ । महान डच खेलाडी योहान क्राएफका पुत्र जोर्डी, जो हाल बार्सिलोनाको निर्देशक पदमा छन् । उनले लापोर्टालाई धैर्य रहन आग्रह गरेको बताइएको छ । तर लापोर्टाको धैर्य धेरै समय टिक्न सकेन ।

आखिरमा उनले निर्णय लिए नै । अब सबैको ध्यान पूर्व मिडफिल्डर जाभीतर्फ छ । जाभी हाल कतारको फुटबलमा व्यस्त छन् । जाभी लापोर्टाको पहिलो रोजाइ होइनन् । बार्सिलोनाको प्रशिक्षक बन्न जाभीको अनुभव पुग्दैन भन्ने लापोर्टाको धारणा छ । यद्यपि लापोर्टाका लागि धेरै विकल्प छैन ।

हुन त कोम्यान आफैंलाई पनि थाहा थियो, बार्सिलोनामा धेरै समय टिक्न सकिँदैन । फेरि लापोर्टाले आफूलाई नरुचाउने तथ्यबारे पनि उनी जानकार थिए । यद्यपि कोम्यानले आफ्नो आत्मविश्वास पूरै गुमाएका भने थिएनन् । च्याम्पियन एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि कोम्यानले भनेका थिए, ‘अध्यक्षसँग कुरा भयो, मलाई उनको समर्थन छ ।’

त्यहीबेला अध्यक्ष र प्रशिक्षक मिलेर अघि बढ्ने सहमति भएको पनि बताइयो । ‘उनी बार्सिलोनाकै हुन् । हामीले कोम्यानलाई सम्मान गर्नुपर्छ । उनले खेलाडीका रूपमा पनि बार्सिलोनालाई अतुलनीय योगदान गरेका छन्,’ अध्यक्ष लापोर्टाले भनेका थिए । तर, अध्यक्षसँगको सहमतिले कोम्यानको पद जोगिएन । किनभने लापोर्टालाई मैदानको नतिजाले निर्देश ग¥यो । खेलाडीहरूको आत्मविश्वासमा गिरावट आउन थालेपछि अंकतालिकामा बार्सिलोनाले प्रगति गर्ने सम्भावना पनि क्षीण हुँदै गयो ।

बर्खास्तपछि निराश बनेका कोम्यानले गर्व गर्न लायकका केही काम भने गरेका थिए । जस्तै, युवा खेलाडीहरूलाई मौका दिने काम गरेका थिए । गाभी, निको, पेड्री जस्ता युवा प्रतिभाहरू कोम्यानकै कारण सिनियर टिमका सदस्य बनेका हुन् । तर, यस्तो राम्रो निर्णय मैदानको नतिजाले ओझेलमा पर्‍यो । फेरि नतिजाको पूर्ण जिम्मेवारी कोम्यानले लिएनन् । न त उनीसँग समस्या समाधानलाई अरू उपाय नै थियो । 
(एजेन्सीहरुको सहयोगमा)