कतार विश्वकप २०२२

विश्वकपमा १२ लाख भन्दा बढि पाहुना आउने कतारको अपेक्षा

दोहा । विश्वकप २०२२ को दौरान कतारले १२ लाख भन्दा बढि विदेशी पर्यटक आफ्नो देशको भ्रमणमा आउने अपेक्षा गरेको एक उच्च अधिकारीले बताएका छन् ।

विदेशी कामदारसहित गरी मुश्किलले २७ लाख जनसंख्या भएको कतारले १२ लाखभन्दा बढि विदेशी पर्यटकलाई परम्परागत होटल तथा अन्य विशेष बसोबासको व्यवस्था मिलाएर आतिथ्य प्रदान गर्ने योजना बनाएको छ । मध्यपूर्वमा पहिलो पटक हुन लागेको विश्वकप अर्को वर्ष नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ सम्म चल्नेछ ।

‘विश्वकपका लागि विश्वभरबाट १२ लाखभन्दा बढि विदेशीले कतार भ्रमण गर्ने हामीले अपेक्षा गरेका छौं । तर सबैजना एकैपटक कतारमा हुने छैनन् । २८ दिनसम्म चल्ने प्रतियोगिताका लागि विदेशी समर्थकहरुको आउने र जाने क्रम चलिरहेको हुनेछ,’ विश्वकप आयोजनाका लागि गठित सुप्रिम कमिटीका सञ्चार प्रमूख फातमा अल नुआइमीलाई उद्यृत गर्दै एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

नुआइमीका अनुसार विश्वकप हेर्न आउने विदेशी पाहुनाका लागि उपलब्ध होटलहरुमा रचनात्मक तरिकाले थप अस्थायी व्यवस्था गरिनेछ ।

पाहुनाका लागि क्रुज लाइनर, होटल अपार्टमेन्ट, अरेबियन मरुभुमीको जीवनशैली झल्कने समर्थक भिलेज तथा निजी आवासहरुमा बसोबासको व्यवस्था गर्ने कतार प्रशासनले योजना बनाएको छ ।

अधिकारीहरुले बताएअनुसार समुन्द्रमा तैरिरहेका १६ होटल बनाउने योजना छ । जहाँ एक हजार ६ सय कोठा उपलब्ध हुनेछन् । निजी आवासहरुमा कतारी नागरिकले ‘होस्ट अ फ्यान’ अभियानअन्तर्गत विदेशीलाई आतिथ्य दिनेछन् । जुन कतारी संस्कृतिको प्रवद्र्धनका लागि पनि प्रभावकारी हुने आयोजकको अपेक्षा छ ।

‘अतिथि सत्कार कतारीहरुलाई अत्यन्तै प्रिय लाग्ने काम हो । जसका कारण विश्वकप दौरान विदेशी पाहुनाको बसोबास व्यवस्था मिलाउन आयोजकलाई सहयोग पुग्नेछ । सँगै कतारी संस्कृतिको पनि विश्वव्यापी रुपमा प्रचार हुनेछ,’ उनले भनिन ।

विश्वकपको एक महिना अघिदेखि एक महिना पछिसम्म गरी १५ लाख विदेशीले भ्रमण गर्ने अनुमान गरएको कतारले केही समयअघि बताएको थियो ।

केही समर्थक तथा कमेन्टेटरहरुले गल्फको परम्परागत देशले विगतका प्रतियोगिताहरुमा जस्तै आतिथ्य विश्वकपका लागि आउनेलाई दिन नसक्ने चासो व्यक्त गरिरहेका छन् । तर नुआइमीले भने आफ्नो संस्कृतिमा नभएको मदिरा सेवनलाई पनि विश्वकप दौरान निश्चित स्थानहरुमा खुला गरिने भन्दै विदेशी पाहुनालाई हरसम्भव सबैखाले सुविधा प्रदान गर्न कतार प्रतिबद्ध रहेको बताइन ।

विश्वकप तयारीका काममा कार्यरतसहित अन्य सबै विदेशी कामदारप्रति राम्रो व्यवहार नगरेको भन्दै कतारले विश्वव्यापी आलोचना खेपिरहेको छ । सबभन्दा ठूलो संख्यामा दक्षिण एसियाली कामदार रहेको कतारमा कामको दौरान हुने उनीहरुको मृत्युले विश्वव्यापी समवेदना प्राप्त गर्ने गरेको छ ।

अधिकारवादीहरुले विदेशी कामदारको श्रम शोषण गरिएको र उनीहरुलाई जोखिमपूर्ण तरिकाले काम लगाइएको आरोप लगाउने गरेका छन् । तर नुआइमीले भने त्यस्ता खालका आलोचना नहुने गरी अगाडि बढ्न प्रयास गर्ने बताइन ।

कतारी प्रशासनले मध्यपूर्वका अन्य देशको तुलनामा कामदारको हकहितको अवस्थामा सुधारका लागि धेरै काम गरेको दाबी गर्दै आफूहरु कामदारको स्वास्थ्य र सुरक्षाको विषयमा सधै पारदर्सी रहेको बताउँदै आएको छ ।

पेट्रोलियम पदार्थको धनी कतारले विश्वकप आयोजना गर्ने आठमध्ये पाँच रंगशालाको उदघाटन गरिसकेको छ ।

मध्य दोहाबाट १२ किलोमिटरको दुरीमा रहेको ४० हजार सिट क्षमताको अल थुमामा रंगशाला उदघाटन गरिएको पछिल्लो रंगशाला हो ।

कतारले यसअघि नवनिर्मित अहमद बिन अली, अल जानौब र इजुकेसन सिटी रंगशालाको उदघाटन गरिसकेको छ । यसका साथै पुननिर्माण गरिएको आलिफा मैदान पनि उदघाटन भइसकेको छ ।

रास अबु अबौद, अल बायत र १४ महिनापछि विश्वकपको फाइनल खेल आयोजना गर्ने लुसाइल रंगशाला भने उदघाटन हुन बाँकी छन् ।

नुआइमीले विश्वकपको लागि पूर्वाधार निर्माणको ९८ प्रतिसत काम सम्पन्न भइसकेको छ र सन २०२१ भित्रमा तयारीका सबै काम सकिनेछन् ।

आफ्नो जनसंख्याको तीन चौथाईलाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको कतारले विश्वकपको रिहल्सलका रुपमा नोभेम्बरमा गर्न लागेको क्षेत्रीय प्रतियोगिता अरब कप दौरान संक्रमण दरको पनि अध्ययन गर्ने बताएको छ ।