इतिहास पुर्नलेखनको अभियानमा रहेका जोकोभिच फाइनलमा 

न्युयोर्क, (खेलाडी)- वर्षका सबै चार ग्रान्ड स्लाम प्रतियोगिता जित्ने ५२ वर्ष पुरानो इतिहासलाई पुर्नलेखन गर्ने अभियानको नजिक पुग्ने क्रममा नोभाक जोकोभिचले शनिबार विहान युएस ओपनको फाइनलमा स्थान पक्का गरेका छन् । 

विश्व नम्बर एक खेलाडी जोकोभिचले शनिबार विहानको सेमिफाइनलमा पहिलो सेट गुमाए पनि पाँच सेटसम्म संघर्ष गर्दै एलेक्जेन्डर जेभरेभको चुनौती पन्छाए । जोकोभिचले ४-६, ६-२, ६-४, ४-६, ६-२ को नतिजा साथ फाइनलको टिकट काटेका थिए । 

सोमबार विहान हुने फाइनलमा जोकोभिचले दोस्रो वरियताका ड्यानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्नेछन् । करियरको पहिलो ग्रान्ड स्लामको खोजीमा रहेका मेड्मेडेभले शनिबारै चाढोगरी सम्पन्न सेमिफाइनलमा फिलिक्स अग्वेर एलासिमेलाई ६-४, ७-५, ६-२ को नतिजामा हराएर तेस्रो पटक ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल यात्रा गरेका थिए । 

१९६९ मा रड लाभरले वर्षका सबै चार ग्रान्ड स्लाम जितेपछि विश्व टेनिसमा कुनै पनि खेलाडीले एकै वर्ष सबै चार मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । तर २० ग्रान्ड स्लाम उपाधिका साथ रोजर फेडेरर र राफेल नाडालसँग सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमानसँग बराबरी गरिसकेका जोकोभिच त्यो उपलब्धिभन्दा एक खेलको मात्र दुरीमा छन् । 

जोकोभिचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनमा उपाधि जितिसेकका छन् ।