रोजर फेडेरर

रोजर फेडेररः विश्व टेनिसका पिकासो

काठमाडौं । रोजर फेडेरर सुरुआती दिनमा सन्काहा थिए । अम्पायरले आफूविरुद्ध निर्णय दिए रिसाएर र्याकेट भुइँमा बझार्थे । स्विजरल्यान्डका यी किशोर कुनै दिन टेनिस जगतकै महान् खेलाडीमध्येका एक हुन्छन् भनेर अनुमान लगाउन सजिलो थिएन । जतिले त्यस्तो अनुमान गरे, कालान्तरमा ती सही साबित भए ।

विश्व टेनिसमा फेडेररसँगै एउटा सिंगो पुस्ताको उदय भयो । जसले लगातार दुई दशक विश्व टेनिसमा दबदबा कायम गर्यो । अब त्यो पुस्ताबाट फेडेरर अलग्गिदैछन् । बिहीबार राति मात्रै उनले यस्तो निर्णय सुनाए । अब उनी खेलाडीका रूपमा कोर्टमा देखिने छैनन् ।

‘म ४१ वर्षको भएँ । २४ वर्षे करियरमा १५ सय भन्दा धेरै खेल खेलेँ । टेनिसले मलाई यत्तिको माया गर्ला भनेर कल्पना गरेको थिइनँ । यति हुँदाहुँदै पनि मैले निर्णय गर्नैपर्छ, कहिलेसम्म खेल्ने भनेर,’ संन्यास घोषणा गर्दैगर्दा फेडेररले भनेका छन् ।

आफ्नो करियरमा फेडेररले के के गरे ? त्यो सबै इतिहासमा दर्ज छ । त्यही पनि भन्दिहालौँ, फेडेररले एक सय तीन टुरमा एकल उपाधि जितेका छन् । २० ग्रान्ड स्लाम उनको नाममा छन् । तीन सय १० साता उनी विश्व वरीयताको शीर्ष स्थानमा रहे । अब छुटाउनै नहुने अर्को सफलता, उनी खेलिरहेका बेला कहिल्यै घाइते भएनन् । चोटका कारण कोर्ट छाड्नु परेन । यो सफलता कत्तिको महत्त्वपूर्ण हो ? वा यो आफैँमा सफलता हो कि होइन ? कुनै खेलाडीलाई सोधे थाहा भइहाल्छ ।

फेडेरर र सेरेनाले चाँडै नै संन्यास लिन्छन् वा यो खेलबाट टाढा हुन्छन् भनेर थाहा नभएको होइन । तर यस्तो दिनको प्रतीक्षा कसले गर्छ र ?

कसैले भन्न सक्छ, यो टेनिसका लागि खराब वर्ष रहेछ । किनभने केही समयअघि मात्रै सेरेना विलियम्सले पनि संन्यास लिएको संकेत गरिन् । यद्यपि उनले औपचारिक रूपमा यसो भनेकी छैनन् । बरु अमूर्त भाषा प्रयोग गर्दै टेनिसबाट टाढा हुन लागेको बताएकी छन् । जे होस् भविष्यमा उनलाई कोर्टमा देखिने सम्भावना कम छ । फेडेरर र सेरेनाले चाँडै नै संन्यास लिन्छन् वा यो खेलबाट टाढा हुन्छन् भनेर थाहा नभएको होइन । तर यस्तो दिनको प्रतीक्षा कसले गर्छ र ?

पछिल्लो समय फेडेररलाई चोटले निकै दुःख दियो । उनले संन्यास लिने खबर निकै पटक आए । टेनिसबाट कहिले बिदा लिने भन्नेबारे उनी प्रष्ट थिए । त्यसकारण बीचमा उनले यस्ता खबरप्रति खासै टिप्पणी गरेनन् । अहिले चाहिँ उनले निर्णय गरेकै हुन् । तर उनले अन्तिम पटक खेलेको हेर्ने अवसर छ । त्यो अवसर अर्को साता लन्डनमा सुरु हुने लेभर कपले जुराइदिएको हो । लेभर कपमा राफेल नाडाल पनि हुनेछन् । अनि जोकोभिच र एन्डी मरेले पनि प्रतिस्पर्धा गर्नेछन् ।
  
लामो समय फेडेररले नाडाल र नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गरे । यी तीनलाई टेनिस समर्थकले ‘बिग थ्री’ भनिरहे । अब भने ‘बिग थ्री’ बाट एक ‘बिग स्टार’ निस्किन लागेका छन् । यसले नाडाललाई दुःखी बनाएको छ । ‘फेडेररको यो निर्णयले व्यक्तिगत रूपमा मलाई मात्र होइन, विश्व खेलकुदलाई नै निराश बनाएको छ । उनीसँग मैले कोर्ट र कोर्टभन्दा बाहिर निकै रमाइला क्षण व्यतित गरेको छु,’ आफ्ना प्रतिद्वन्द्वीबारे स्पेनका नाडालले भनेका छन् ।



फेडेररको खेल शैलीबारे कयौँ दिग्गजले फरक फरक टिप्पणी गर्ने गरेका छन् । तीमध्ये पाउल एन्नाकोनेको टिप्पणी रोचक छ । टेनिस प्रशिक्षक एन्नाकोनेले फेडेररलाई ‘टेनिस र्याकेट बोकेको पिकासो’ भनेका छन् । ‘फेडेररले खेलेको देख्दा लाग्थ्यो, टेनिस त सजिलो खेल रहेछ । सायद यो उनको सबैभन्दा सबल र सुन्दर पक्ष हो,’ एन्नाकोने भन्छन् ।

युवा हुँदा फेडेररले आफ्नो रिसलाई कहिल्यै काबुमा राख्न सकेनन् । उनी प्रशिक्षकहरुसँग सबैले देख्नेगरि कोर्टमै झगडा गर्थे । रिसकै कारण उनले जित्ने खेल पनि हारे । उनको यो बानी पछि परिवर्तन हुँदै गयो । उनी कतिसम्म फेरिए भने, टेनिसले उनलाई सबैभन्दा धैर्यवान् खेलाडी मान्न थाल्यो । यो साँच्चै ठूलो परिवर्तन थियो । जसले गर्दा उनको समर्थकको संख्या बढ्दै गयो । उनी ‘ग्लोबल आइकन’ बन्न सके ।

विश्वकै धनी खेलाडीहरुको सूचीमा पर्छन्, फेडेरर । उनले पुरस्कारबापत मात्रै १३ करोड अमेरिकी डलर कमाए । कोर्टबाहिरको कमाइ त छँदैछ । उनी महंगा विज्ञापनमा देखिन्छन् । जसले गर्दा उनी एक अर्ब अमेरिकी डलर कमाउने पहिलो टेनिस खेलाडी बने । पछिल्ला तीन सिजन उनले निरन्तर खेल्न सकेनन् । तर पनि उनी सबैभन्दा बढी कमाइ गर्ने टेनिस खेलाडी बन्न सके । सन् २०२० मा त उनलाई फोब्र्सले सर्वाधिक आम्दानी गर्ने खेलाडी घोषित नै गर्यो ।

फेडेररले आगामी दिनमा प्रदर्शनी खेलमा सहभागी हुने संकेत गरेका छन् । तर उनलाई यसो गर्न घुँडाको चोटले रोक्नसक्ने सम्भावना बलियो छ । यही चोटका कारण उनले सन् २०२० देखि २०२१ को बीचमा एक वर्ष खेलेनन् । पछिल्लो १४ महिनामा त उनले एक खेल पनि खेलेका छैनन् । ‘पूर्ण रूपमा फिट हुन मैले धेरै कोसिस गरेको हो । तर यो उमेरमा शरीररको सीमितता हुन्छन् । मलाई शरीररले बारम्बार सन्देश दिइरहन्छ । जसलाई मैले सुन्नु पर्छ, मनन गर्नुपर्छ,’ फेडेररले भनेका छन् ।

फेडेरर सन् १९८१ मा स्विटजरल्यान्डमै जन्मिएका थिए । उनका बुवा स्विस हुन् भने आमा दक्षिण अफ्रिकी । बाल्यकालमा उनले टेनिसभन्दा बढी अरु खेल खेले । जस्तै, फुटबल । उनमा भविष्यमा राम्रो फुटबलर बन्ने सम्भावना देखेका थिए, सबैले । तर पिटर कार्टरसँगको भेटले फेडेररलाई टेनिसतिर लग्यो ।  यी दुईबीच घनिष्ठ सम्बन्ध थियो । कार्टरसँगको सम्बन्धकै कारण किशोर फेडेरर कुशल बन्दै गए ।



फेडेरर १४ वर्षको उमेरमा बासेलबाट इकुब्लेन्स सरे । जहाँ स्विटजरल्यान्डको राष्ट्रिय तालिम केन्द्र थियो । उनले त्यहाँ तालिम सुरु गरे । सुरुमा उनले भाषागत समस्या झेल्नुपर्यो । किनभने इकुब्लेन्स फ्रेन्चभाषी क्षेत्र थियो । तर फेडेरर त्यो भाषामा जान्दैन थिए । त्यसकारण उनलाई साथीहरुले खुबै गिज्याउँथे । समय बित्दै जाँदा फेडेररले भाषाको तगारोलाई पन्छाउन सके ।

फेडेररले सन् १९९९ बाट ग्रान्ड स्लाम करियरको सुरुआत गरे । तर २००१ बाट मात्रै उनलाई टेनिस जगतले पहिचान ग¥यो । त्यस वर्षको विम्बल्डनमा उनले सात पटकका च्याम्पियन पिट साम्प्रासलाई चौथो चरणमा स्तब्ध बनाएका थिए । त्यस बिन्दुबाट फेडेररको करियर तीव्र गतिमा दौडने अनुमान गरिएको थियो । तर सन् २००२ मा एक दुर्घटनामा कार्टरको निधन भएपछि फेडेरर मानसिक रूपमा विक्षिप्त बने । र यसले उनको प्रदर्शनलाई नै असर गर्यो ।

कार्टरको निधनबाट तत्कालै बाहिर निस्कन नसके पनि फेडेरर आफ्ना गुरुले देखेको सपना पूरा गर्न दृढ थिए । फलतः उनले सन् २००३ मा विम्बल्डन जिते । बेलायती कोर्टमा उनले जसरी खेले, त्यसको सन्देश प्रष्ट थियो, स्विटजरल्यान्डका यी प्रतिभा रोकिनेवाला छैनन् ।

विम्ल्डनको सेमिफाइनलमा फेडेररले अमेरिकाका एन्डी रोडिकलाई हराएका थिए । फेडेरर जस्तै रोडिक पनि त्यसबेला उदाइरहेका प्रतिभा थिए । विम्बल्डनमा निराश बन्नु परे पनि रोकिडले यूएस ओपन जिते । त्यसबापत केही समय विश्व वरीयताको पहिलो स्थानमा उक्लिए । तर उनको दबदबा धेरै समय टिकेन । किनभने फेडेररको युग सुरु हुनेवाला थियो ।

फेडेररले सन् २००४ को सुरुआत मजबुत ढंगले गरे । वर्षको पहिलो ग्रान्ड स्लाम अस्टे«लियन ओपन अरुलाई जित्न दिएनन् । मेलबर्नमा च्याम्पियन बन्नासाथ उनले वरीयताको शीर्षस्थानमाथि कब्जा जमाए । त्यही वर्ष उनले विम्बल्डन र यूएस ओपनका उपाधि हात पारे । उनमा वर्षमा चारमध्ये तीन ग्रान्ड स्लाम जित्ने बानीको विकास भयो । सन् २००४, २००६ र २००७ मा उनले यस्तो अभूतपूर्व सफलता हासिल गरे । त्योबीचमा उनले जित्न नसकेको ग्रान्ड स्लाम फ्रेन्च ओपन मात्र थियो । रोलान्ड गारोसमा उनी असफल भइरहनुको कारण नाडाल थिए । सन् २००६ देखि २००८ का प्रत्येक फाइनलमा फेडेररले नाडालसँग हार व्यहोरिरहेके थिए ।

फेडेरर अब नाडालसँग घाँसे मैदानमा पनि हारे । सन् २००८ को त्यो विम्बल्डन उपाधि भिडन्तमा पाँच वर्षले कान्छा नाडालले फेडेरमाथि रोचक जित दर्ता गरेका थिए । आज पनि त्यो खेललाई विश्व टेसिकै उत्कृष्टमध्येको एक मानिन्छ । सन् २००८ मा फेडेररले जितेको एक मात्र ग्रान्ड स्लाम यूएस ओपन थियो ।
 
सन् २००० दशक उत्तर्राद्धमा पुग्दै फेडेरर र नाडालबीच प्रतिद्वन्द्विताको चरण सुरु हुँदै थियो । किनभने प्रत्येक ग्रान्ड स्लामका मुख्य दाबेदार यी दुई खेलाडी हुन्थे । प्राय उपाधि भिडन्तमा फेडेररलाई चुनौती दिन नाडाल तयार हुन्थे । यो प्रतिद्वन्द्विताको रापले अस्ट्रेलियन ओपनलाई पनि बाँकी राखेन । सन् २००९ को त्यो फाइनलमा यी दुई भिडे । नतिजा नाडालको पक्षमा गयो । हारपछि फेडेररले आसु थाम्न सकेनन् । उनलाई फकाउने प्रयासमा नाडाल थिए । यो दृश्यलाई आज पनि टेनिस समर्थकले बिर्सिएका छैनन् ।

अस्ट्रेलियन ओपन गुमाए पनि फेडेररले त्यस वर्ष फ्रेन्च ओपन जिते । रोलान्ड गारोसमा यो उनको पहिलो उपाधि थियो । यसपल्ट उनले नाडालको चुनौती सामना गर्नु परेन । किनभने स्पेनी खेलाडी चौथो चरणबाटै घर फर्किएका थिए । फ्रेन्च ओपन जितेको चार सातापछि फेडेरर विम्बल्डन च्याम्पियन बने । यसले उनलाई पुरुष टेनिसमा सर्वाधिक ग्रान्ड स्लाम (१५ पटक) जित्ने खेलाडी बनायो । यसअघि यो कीर्तिमान साम्प्रासको नाममा थियो ।

टेनिसमा यो सफलता पाएको केही समयपछि फेडेररको जीवनमा अर्को खुसीयालीको प्रवेश भयो । उनकी श्रीमतिले जुम्ल्याहा छोरीलाई जन्म दिइन् । संयोग नै मान्नुपर्छ, फेडेरर दम्पतिले जुम्ल्याहा छोरालाई पनि स्वागत गरे । फेडेररले बारम्बार आफ्नी श्रीमती मिर्काले गर्ने समर्थनबारे चर्चा गरेका छन् । मिर्काले फिटनेस ट्रेनर पियर पागानिनीसँग मिलेर फेडेररको ‘फिटनेस ट्रेनिङ’ को तालिका बनाउने गर्थिन् ।
  
सन् २००९ बाटै हो, फेडेररले संन्यास सम्बन्धी प्रश्नको सामना गर्नु परेको । तर कालान्तरमा उनले एक दशक अझैँ खेले । आफूले यति लामो समय खेल्न सक्नुमा श्रीमतीले दिने गरेको उत्साह र प्रेरणलाई कारक मान्छन्, फेडेरर । सन् २०१७ मा उनले श्रीमतीकै कारण पुनरागमन गरेको बताउने गरेका छन् ।



सन् २०१६ को कुरा हो, छोरीहरूसँग खेल्दै गर्दा फेडेररको देब्रे घुँडामा समस्या उत्पन्न भएको थियो । त्यसपछि उनको तत्कादै शल्यक्रिया गरियो । केही महिनापछि नै उनी कोर्ट फर्किए । तर चोट बल्झियो । र थप पाँच महिना ‘रिह्याबिलिटेसन’ मा बिताउनु पर्यो ।

सन् २०१७ मा उनी फर्किए । आठौँ पटक अस्ट्रेलियन ओपन जिते । त्यो पनि नाडाललाई फाइनलमा हराएर । अर्को वर्ष पनि उनी त्यहाँ च्याम्पियन बने । जुन उनले जितेको अन्तिम ग्रान्ड स्लाम बन्यो । त्यो वर्ष ३६ वर्ष पुगेका फेडेरर विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने सबैभन्दा पाका खेलाडी बने ।

सन् २०१९ मा फेडेररका अगाडि २१ औँ ग्रान्ड स्लाम जित्ने अवसर थियो । तर उनी जोकोभिचसँग पराजित भए । केही समय फेडेररले सर्वाधिक पटक ग्रान्ड स्लाम जितेको कीर्तिमान आफूसँग राखे । आजको दिनमा भने यो कीर्तिमान नाडालसँग छ । उनले २२ ग्रान्ड स्लाम जितेका छन् । उनलाई पछ्याइरहेका जोकोभिचले २१ पटक ग्रान्ड स्लाम जितेका छन् ।
  
सर्वाधिक ग्रान्ड स्लाम जित्नेको सूचीमा फेडेरर तेस्रो स्थानमा रहिरहनेछन् । आउँदा कयौँ वर्ष उनको यो कीर्तिमान कसैले खोस्न सक्ने छैन । हेड टु हेडमा फेडेरर आफूभन्दा कान्छा प्रतिद्वन्द्वीद्धय नाडाल र जोकोभिचभन्दा पछाडि छन् । तर लामो समय उच्च लयमा रहिरहने मामलामा उनी ती दुवैभन्दा अगाडि छन् । फेरि लगातार २० वर्षभन्दा बढी खेल्नु आफैँमा चानचुने उपलब्धि होइन ।

सक्रिय खेल करियरबाट संन्यास लिने भए पनि फेडेररले टेनिसमा नयाँ भूमिका खोजी गर्ने प्रष्ट पारेका छन् । ‘टेनिस, म तिमीसँग प्रेममा छु । म तिमीलाई कहिल्यै छाड्ने छैन,’ उनले त्यत्तिकै यो वाक्य बोलेका होइनन् ।