इतिहास पछ्याइरहेका जोकोभिच तेस्रो चरणमा

न्युयोर्क, (खेलाडी)- एकै वर्षमा सबै चार ग्रान्ड स्लाम जित्ने इतिहास पछ्याइरहेका विश्व नम्बर एक सर्बियाली खेलाडी नोभाक जोकोभिचले शुक्रबार विहान टालन ग्रिकस्परमाथि ६-२, ६-३, ६-२ को सोझो सेटमा विजय हासिल गर्दै युएस ओपनको तेस्रो चरणमा स्थान पक्का गरेका छन् । 

जारी युएस ओपन जिते जोकोभिच एकै वर्ष सबै चार ग्रान्ड स्लाम खेल्ने तेस्रो तथा सबैमा जित हासिल गर्ने १९६९ यताकै पहिलो खेलाडी बन्नेछन् । उनले वर्ष २०२१ मा यसअघि सम्पन्न अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनमा उपाधि जितिसकेका छन् । 

यसका साथै शीर्ष खेलाडी जोकोभिचले युएस ओपन जित्न सके सर्वाधिक २०१ ग्रान्ड स्लाम उपाधिका साथ सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान पनि बनाउनेछन् । हाल चोटग्रस्त फेडेरर र नाडाल तथा जोकोभिचको नाममा समान २० ग्रान्ड स्लाम उपाधि छ ।

जोकोभिचले तेस्रो चरणमा जापानी स्टार केई निशिकोरीसँग प्रतिस्पर्धा गर्नेछन् । 

निशिकोरीले दोस्रो चरणमा म्याकेन्जी म्याकडोनाल्डलाई पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै ७-६ (७/३), ६-३, ६-७ (५/७), २-६, ६-३ को संघर्षपूर्ण नतिजामा हराएका थिए ।