आइटीएफ एसिया यु–१२ टिम टेनिस

नेपाल छनोट हुन सकेन

काठमाडौं । नेपाल आइटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता -रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसियाबाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने प्रतियोगिताका लागि नेपाल ब्वाइज/गर्ल्स दुवैभा टोली छनोट हुन असफल भएको हो ।

छनोट हुन नसके पनि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज/गर्ल्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो । सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६–० र ६–० तथा वृजेश आर्यलले नियाजलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६–४ र ६–१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।

गर्ल्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३–० को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाए । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाए । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६–० र ६–० ले विजयी रह्यो ।

प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन् । गर्ल्सको राउन्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोश्रो बन्दै श्रीलंका फाइनलमा पुगे । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज/गर्ल्स दुबैमा पहिलो र दोश्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।