ओसाकाले गल्ती स्वीकारिन

टोकियो, (खेलाडी)- जापानकी नाओमी ओसाकाले फ्रेन्च ओपन दौरान मिडियाबाट टाढा बस्न लिएको निर्णय गलत भएको स्वीकार गरेकी छिन् ।

ओसाकाले आफू डिप्रेसनको सिकार भएको अवस्थामा कसरी सञ्चार माध्यममा प्रस्तुत हु्ने भन्ने निर्णय लिन नसक्दा अन्तत प्रतियोगिता नै छोड्ने निर्णयमा पुगेको बताइन् ।

‘मलाई लाग्छ, त्यो समयमा मैले गल्ती गरेँ,’ ओसाकाले भनिन्, ‘तर मलाई त्यो समयमा सही सुझाव दिने कोही भएनन् ।’

२३ वर्षिया ओसाका युएस ओपनमा उपाधि रक्षाको लक्ष्यमा छिन् । ओसाकाले सो घटनाबाट आफूले ठूलो पाठक सिकेको समेत बताइन् ।

ओसाकाले मेमा फ्रेन्च ओपन दौरान पत्रकार सम्मेलनमा उपस्थित नुहने बताएसँगै उनीमाथि जरिवना गरिएको थियो । त्यसपछि उनले मानसिक रुपमा फिट नभएको भन्दै प्रतियोगिता बीचमै छोड्ने निर्णय गरेकी थिइन् । 

आफ्नै देशमा भएको टोकियो ओलम्पिक २०२० मा ओसाकाबाट स्वर्ण पदक आश गरिएको थियो । तर लामो समयदेखि मानसिक फिट्नेस हासिल गर्न संघर्षरत ओसाकाले घरेलु कोर्टमा कुनै जादु देखाउन सकिनन् । 

‘म अहिले शारीरिक र मानसिक रुपमा फिट छु,’ ओसाकाले भनिन्, ‘पछिल्लो समय मैले धेरै प्रतियोगिता खेलेको छैन । तर पनि म छिट्टै स्वभाविक लयमा फर्कनेमा आशावादी छु ।’