यु १२ टिम टेनिस प्रतियोगिता

यु १२ टिम टेनिस सोमबारदेखि

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आइटीएफ एसिया यु १२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए ।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान तीन ब्वाइज/गर्ल्सले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानबाट भने तीन ब्वाइजले मात्र खेल्नेछन् ।

टिम टेनिसमा दुई सिंगल्स र एक डबल्स खेल हुनेछ । नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ ।

ब्वाइज÷गर्ल्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

प्रतियोगिताका लागि आइटीएफ रेफ्री प्रवीणकुमार नायक र आइटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन् । स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुशीको कुरा भएको बताए ।