टेनिस

शीर्ष वरीयतामा फर्किए जोकोभिच

लन्डन । विश्व वरीयताका नम्बर एक ड्यानिल मेड्भेडेभले आफ्नो वरीयता गुमाउने भएका छन् । मेड्भेडेभ वरीयताको शीर्ष स्थानबाट खस्किने पक्का भएसँगै नोभाक जोकोभिच शीर्ष स्थानमा उक्लिने भएका छन् ।

सोमबार इन्डियन वेल्स ओपनमा फ्रान्सका गेयल मोनफिल्ससँग ४–६ ६–३ ६–१ को सेटमा पराजित हुँदै उनले दुई हप्तापछि वरीयताको शीर्ष स्थान गुमाउने छन् ।

मेड्भेडेभलाई पराजित गरेसँगै मोनफिल्स ओपनको चौथो चरणमा प्रवेश गरेका हुन् । मेड्भेडेभले दुई हप्तापछि नै वरीयताको शीर्ष स्थान गुमाएका हुन् ।

मोनफिल्सले चौथों चरणमा १८ वर्षका स्पेनिस खेलाडी कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि अल्काराजले १५औं वरियताका रोबर्टाे बाउटिस्टा अगुटलाई ६–२, ६–० को सेटमा हराएका थिए ।

खेलपछि बोल्दै मेड्भेडेभले अर्काे साता मियामीमा हुने खेलबाट वरीयताको शीर्ष स्थानमा फर्किन कडा मेहनत गर्ने बताए ।

‘नम्बर एकमा आउनु राम्रो कुरा हो, चाहे त्यो एक हप्ताका लागि मात्र किन नहोस्,’ उनले भने, ‘मलाई लाग्छ, यो स्थानमा रहन पाउनु नै ठूलो कुरा हो । शीर्ष स्थान गुमाउँदै छु भन्ने मलाई थाहा छ । तर, मियामी ओपनबाट फेरी वरीयताको पहिलो स्थानमा फर्किने प्रयास गर्नेछु ।’