रुस-युक्रेन तनाव

युक्रेनी जनताको सहयोगमा अन्तर्राष्ट्रिय टेनिस

रुस । एटीपी, डब्लुटीए, अन्तर्राष्ट्रिय टेनिस संघ र चार पटक ग्रान्डस्लाम आयोजकहरुले युक्रेनी जनताको सहयोगार्थ स्वरुप अभियान चलाउने भएको छ ।

रुसले फेब्रुअरी चारमा छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारवाही गर्ने घोषणा गरेको थियो । यही द्धन्दको मारमा परेका युक्रेनीको मानवीय उद्दार र राहतका लागि सात टेनिस निकायहरुले यस अभियानबाट एक लाख डलर सहयोग गर्ने वाचा गरेका हुन् ।

युक्रेनमाथिको रुसले गरेको सैन्य आक्रमण अझै जारी छ । जसका कारण १० लाखभन्दा बढी युक्रेनी युरोपका विभिन्न देशहरुमा शरणार्थी बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।

टेनिस संघका निकायहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो अभियान एक सहयोग मात्र नभएको बताएका छन् ।

‘सात निकायहरुले आफ्नो सामाजिक र डिजिटल प्लेटफर्ममार्फत युक्रेनप्रति ऐक्यवद्धताका लागि सबैलाई ‘टेनिस शान्तिको लागि खेलिन्छ’ भन्ने नारा प्रयोग गर्न अपिल गर्दछ,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘साथै इन्डियन वेल्सअन्तर्गत् बिएनपी परिबास ओपनमा हुने एटीपी र डब्लुटीए खेलाडीलाई उक्त नारा लेखिएको ब्यान्ड प्रदान गरिने छ ।’