रुस-युक्रेन तनाव

स्भितोलिनाद्वारा रुसी र बेलारुसी खेलाडीसँग खेल्न अस्वीकार

ओडिसा । विश्व वरीयताको पन्ध्रौं स्थानकी युक्रेनी टेनिस स्टार एलिना स्भितोलिनाले रुसी र बेलारुसी खेलाडीसँग खेल्न अस्वीकार गरेकी छन् ।

गत बिहीबारदेखि रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको थियो । स्भितोलिनाले आफ्नो सबै प्रतियोगिताको नगद पुरस्कार सैन्य र मानवीय सेवाका लागि दान गर्ने प्रतिबद्धता समेत गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत एटीए, डब्लुटीए र आइटीएफले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सिफारिसलाई पालना नगरेसम्म र उनीहरुको राष्ट्रिय पहिचान नहटाएसम्म रुसी र बेलारस खेलाडीसँग कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेकी छिन् ।

‘यस्तो अवस्थामा एटीए, डब्लुटीए र आइटीएफको स्पष्टता चाहिन्छ । हामी युक्रेनी खेलाडीहरु एटीए, डब्लुटीए र आइटीएफलाई रुसी र बेलारुसी खेलाडीलाई राष्ट्रिय गान र झण्डाको प्रदर्शन नगरीकन तटस्थ खेलाडीको रुपमा मात्र आइओसीले सिफारिस गरेको नियम पालना गर्न अनुरोध गर्छाै,’ उनले लेखेकी छिन्, ‘मोन्टेरीअन्तर्गत मंगलबारको खेल नखेल्ने जानकारी गराउँछु । हाम्रो संगठनले निर्णय नलिएसम्म म कुनै पनि खेलमा रुसी र बेलारुसी खेलाडीसँग प्रतिस्पर्धा गर्दिन ।’