एसिया ओसियाना प्रि–क्वालिफाइङ

टेनिस टोली श्रीलंका जाँदै

काठमाडौं । आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता एसिया ओसियाना प्रि–क्वालिफाइङमा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने भएका छन् ।

टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

फेब्रुअरी १४ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको नेपालबाट पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने तालिका छ ।

यसपछि कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायस्थले खेल्ने छन् । त्यसैबेला हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशाडोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।