अस्ट्रेलियन ओपन

नाडालले जिते कीर्तिमानी २१औं ग्रान्डस्लाम

मेलबर्न । राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् ।

मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने ।

सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका थिए । यसपालीसहित दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका नाडालले यसअघि २००९ मा वर्षको पहिलो ग्रान्डस्लाम जितेका थिए ।

यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालको नाममा थियो । तीनै खेलाडीले २०/२० पटक ग्रान्डस्लाम उपाधि जितेका थिए ।

नाडालसँग पराजित भएसँगै मेड्भेडेभ लगातार दुई पटक फाइनल पुगेर पनि उपाधि जित्न वञ्चित भएका छन् । गत वर्षको फाइनलमा मेड्भेडेभ जोकोभिचसँग पराजित भएका थिए ।

यद्यपि, अस्ट्रेलियन ओपनको फाइनलको पराजयको बदला लिँदै मेड्भेडेभले जोकोभिचलाई युएस ओपनको फाइनलमा हराएका थिए । त्यो उनको करियरको एक मात्र ग्रान्डस्लाम उपाधि हो ।