अस्ट्रेलियन ओपन

विश्व नम्बर दुई मेड्भेडेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

मेलबर्न । विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार मेलबर्न पार्कमा भएको क्वार्टरफाइनलमा फेलिक्स अगुर एलियासिमेलाई ३–२ सेटको नजितामा पराजित गर्दै विश्व वरियताको दोस्रो स्थानका मेड्भेडेभ लगातार दोस्रो पटक सेमिफाइनलसम्म पुगेका हुन् ।

गत वर्षको फाइनलसम्म पुगेर विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित हुँदै उपविजेतामा सीमित भएका मेड्भेडेभ युएस ओपन च्याम्पिन बनेका थिए ।

बुधबार भएको क्वार्टरफाइनलका सुरुआती दुई सेट फेलिक्सलाई सुम्पिएका मेड्भेडेभले त्यसपछिका तीन सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरे । सुरुआती दुई सेटमा सहजै पराजित भएका मेड्भेडेभले तेस्रो सेटमा टाई ब्रेकरसम्म पुगेर आफ्नो सम्भावना जिवितै राखेका थिए ।

रुसी खेलाडी मेड्भेडेभले ७–६ (७–४), ६–३, ६–७ (२–७) ५–७ ४–६ को नजितामा जित निकाल्दै सेमिफाइनलमा ग्रीसका स्टेफानोस सित्सिपाससँगको भेट निश्चित गरे । अर्को सेमिफाइनलमा २० पटकका ग्रान्डस्लाम च्याम्पियन राफेल नाडाल र माटेओ बेरेटिनी खेल्ने छन् ।