अस्ट्रेलियन ओपन

नाडाल सेमिफाइनलमा

मेलबर्न । कीर्तिमानी २१औं पटक ग्रान्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनमा प्रवेश गरेका छन् । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

मंगलबार मेलबर्नमा पार्कमा भएको क्वार्टरफाइनलमा विश्व वरियताको छैटौं स्थानका नाडालले क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित निकाले ।

वरियताको १४औं स्थानका सापोभालोभको कडा चुनौतीको सामना गरेका नाडाल ६–३ ६–४ ४–६ ३–६ ६–३ को सेटमा विजयी भए । सुरुआती दुई सेट सहजै जितेका नाडाल त्यसपछिका लगातार दुई सेट गुमाउँदा दबाबमा परेका थिए । तर, अन्तिम सेटमा सुरुआतबाटै अग्रता बनाएपछि नाडालले जित निश्चित गरे ।

फाइनल प्रवेशका लागि नाडालले गेल मोन्फिल्स र माटेओ बेरेटिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।