अस्ट्रेलियन ओपन

क्रेजिकोभालाई हराउँदै किज सेमिफाइनलमा

मेलबर्न । विश्व वरियताको चौथो स्थानकी बार्बोरा क्रेजिकोभालाई हराउँदै म्याडिसन किज अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

मंगलबार मेलबर्न पार्कमा सम्पन्न क्वार्टरफाइनलमा अमेरिकाकी किजले रुसकी क्रेजिकोभालाई ६–३ ६–२ को सोझो सेटमा पराजित गरिन् ।

वरियताको ५१औं स्थानकी किजले पहिलो पटक अस्ट्रेलियन ओपनको सेमिफाइलनमा स्थान बनाएकी हुन् । उनले सन् २०११ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेकी थिइन् ।

त्यस्तै सन् २०१८ देखि ग्रान्डस्लाम टेनिसमा ‘डेब्यु’ गरेकी क्रेजिकोभा गत वर्ष ओपनको दोस्रो चरणबाट बाहिरिए पनि फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

किजले फाइनल प्रवेशका लागि वरियताको शीर्ष स्थानकी अस्लेग बार्टी र जेसिका पेगुलाबीचको विजेतासँगै प्रतिस्पर्धा गर्नेछिन् ।