अस्ट्रेलियन ओपन

हालेप अन्तिम १६ मा

मेलबर्न । सिमोना हालेप वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

मेलबर्न पार्क शनिबार सम्पन्न खेलमा हालेपले मोन्टेनेग्रोकी डान्का कोभानिचलाई ६-२ ६-१ को सोझो सेटमा पराजित गरिन् ।

सन् २०१० देखि ग्रान्डस्लाममा डेब्यु गरेकी हालेप पछिल्लो सिजन ओपनको क्वाटरफाइनलबाट बाहिरिएकी थिइन् ।

हालेप सन् २०१८ को अस्ट्रेलियन ओपनको फाइनलसम्म पुगेकी थिइन् । उनी २०१९ को विम्बल्डन च्याम्पियन हुन् ।

हालेपले अन्तिम १६ मा फ्रान्सकी एलिज कर्नेटसँग प्रतिस्पर्धा गर्नेछिन् । चौथो चरणमा स्थान बनाउने क्रममा कर्नेटले तमारा जिदान्सेकलाई ४-६ ६-४ ६-२ को सेटमा पराजित गरिन् ।

पहिलो सेटमा ४-६ ले निराश बने पनि कर्नेटले त्यसपछिका लगातार दुई सेट आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान पक्का गरिन् ।