अस्ट्रेलियन ओपन

जेभरेभ अन्तिम १६ मा

मेलबर्न । विश्व वरियताको तेस्रो स्थानका एलेक्सजेन्डर जेभरेभ वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्न पार्कमा शुक्रबार भएको खेलमा जर्मनीका जेभरेभले मोल्डोभोका राडु अल्बोटलाई ६–३ ६–४ ६–४ को सोझो सेटमा पराजित गरे ।

जेभरेभले पछिल्लो सिजन ओपनको अन्तिम आठसम्मको यात्रा तय गरेका थिए ।

जितसँगै जेभरेभले अन्तिम १६ मा क्यानाडाका डेनिस सापोभालोभसँग खेल्ने भएका छन् ।

सापोभालेभले शुक्रबारै भएको खेलमा अमेरिकाका रेली ओपेल्कालाई ७–६ (७–४) ४–६ ६–३ ६–४ को सेटमा पराजित गरे ।

सापोभालेभ पछिल्लो सिजन ओपनको तेस्रो चरणबाट बाहिरिएका थिए ।